• ११ मंसिर २०८१, मङ्गलबार

दुई थान भरुवा बन्दुक बरामद

blog

राप्तीसोनारी ४ स्थित शिख सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रबाट बरामद गरिएको भरुवा बन्दुक । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, भदौ १९ गते ।
बाँके प्रहरीले जिल्लाको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको जानकारी दिनुभयो ।

सूचना अधिकारी बुढामगरका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ कुम्भरस्थित शिख सामुदायिक वन उपभोक्ता समूहको कुम्भरदेखि बाँसखोली जाने गोरेटो बाटोमा एकनाले घरेलु भरुवा बन्दुक दुई नाल (थान) बरामद गरिएको हो । बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह वलीको कमाण्डमा चार जना प्रहरी र शिख सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल बस्नेतसहित उपभोक्ता समूहका तीन जना पदाधिकारीले संयुक्त गस्ती गर्दै जाने क्रममा बुधबार बिहान अन्दाजी ४ः११ बजेको समयमा उक्त बन्दुक फेलापरेको सूचना अधिकारी बुढामगरले जानकारी दिनुभयो ।

बरामद गरिएका बन्दुकहरु प्रहरीको नियन्त्रणमा रहेको र थप आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।