• ११ मंसिर २०८१, मङ्गलबार

रेडक्रसले थाल्यो डेङ्गु नियन्त्रण अभियान

blog

तनहुँ समाचारदाता 

तनहुँ, भदौ १९ गते । डेङ्गु सङ्क्रमण बढेपछि  नेपाल रेडक्रस सोसाइटी तनहुँले जिल्लामा तीनमहिने अभियान थालेको छ । तनहुँमा निरन्तर डेङ्गुका बिरामी बढ्ने र मृत्युसमेत हुन थालेकाले आगामी तीन महिनासम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरिने रेडक्रसले जनाएको छ । रेडक्रसले रगतको आपूर्ति, प्राकृतिक विपत् व्यवस्थापनमा उद्धार, राहत र अस्थायी पुनर्बासलगायतमा साझेदारीसँगै महामारीको समयमा सरकारसँग सहकार्य गर्दै आएको थियो । 

नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा अभियानको सञ्चालन गरिएको जानकारी दिनुभयो । रेडक्रसले मङ्गलबार ११ बुँदै विभिन्न कायक्रम दमौलीमा सार्वजनिक गरेको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा तनहुँका अध्यक्ष प्राडा कृष्णप्रसाद गौतमले तनहुँ डेङ्गुको ‘हट स्पट’ बनेकाले अभियान थाल्नु परेको बताउनुभयो । अभियान अन्तर्गत भदौ १८ गते सरोकारवालासँग समन्वय बैठक गरिएको छ । 

कार्यक्रम प्रभावकारी बनाउन बढी प्रभावित नगरपालिका, गाउँपालिकाका स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख, रेडक्रसका स्वयंसेवक एवं सञ्चारकर्मीबिच  समन्वय बैठक गरिएको हो । लामखुट्टेको वासस्थान खोज र नष्ट गर्ने कार्यक्रमका लागि रेडक्रसका स्वयंसेवक तथा युवा रेडक्रस सर्कलका शिक्षक नायक गरी २० जनालाई एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । विभिन्न क्षेत्रका ५१ जनालाई अभिमुखीकरण प्रदान गरिने छ । माइकिङ गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने, सरसफाइ तथा संरक्षणका सामग्रीको खरिद गर्ने, अभियानको अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ । 

तालिम प्राप्त स्वयंसेवक र रेडक्रसको जुनियर युवा सर्कललाई परिचालन गरी विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिने कार्यक्रम अघि बढाइएको छ । यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत ‘लार्भा खोज र नष्ट’ अभियानसमेत थालेको छ । तनहुँमा एक हजार ९२७ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार  सबैभन्दा धेरै आँबुखैरेनीमा एक हजार ३५० जना भेटिएका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अभियानको मङ्गलबार शुभारम्भ गर्दै ‘जहाँ जहाँ लामखुट्टे बस्छ, फैलन्छ त्यहाँ त्यहाँ’ वासस्थान नष्ट गरेर सबैले अभियानलाई सफल पार्नुपर्ने बताउनुभयो । डेङ्गुको सङ्क्रमण एडिस जातिको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । 

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । प्रत्येक घरबाट नै लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न कुनै पनि ठाउँमा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोती, शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ढालबहादुर थापा, दमौली खानेपानी आयोजनाका उपाध्यक्ष विश्वेश्वर सुवेदीलगायतले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उपाय भएकाले लामखुट्टेको वासस्थान नष्ट गर्ने कार्यमा प्रत्येक घरपरिवार लाग्नु जरुरी रहेकोमा जोड दिनुभयो ।