• ११ असोज २०८१, शुक्रबार

सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न पत्राचार

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन बहिरङ्ग सेवा (ओपिडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले आफ्ना मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो । 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ्ग सेवालगायतका सेवाहरु अरु दिनमा जस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री कार्यालयको पत्रपछि स्वास्थ्यले मातहतका अस्पताललाई सार्वजनिक बिदाको दिनमा पनि ओपिडी लगायतका सेवाहरु निर्बाध सञ्चालन गर्न निर्देशन दिएको हो । 

सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीले जानकारी दिनुभयो । ‘‘“सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्न गराउनु हुन यस मन्त्रालयको भदौ १६ को निर्णयअनुसार अनुरोध छ ।” मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ । 

२०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिनजस्तै गरी बिदाको दिनमा पनि पूर्णरुपमा ओपिडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अस्पतालहरुले सार्वजनिक बिदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सट्टा वबिदा दिनुपर्ने उल्लेख छ ।