• २९ वैशाख २०८१, शनिबार

पाँच वर्षमुनिका बालबालिकामा देखिने रेटिनोब्लास्टोमा क्यान्सर के हो ?

blog

काठमाडौं, वैशाख २५ गते । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा बालबालिकामा आँखामा हुने क्यान्सर अर्थात् रेटिनोब्लास्टोमा देखिने तथ्याङ्कले देखाएको छ । 

आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । 

नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकाहरुमा रेटिनोब्लास्टोमा क्यान्सर देखिने डा. राजकर्णिकार बताउनुहुन्छ । 

नेपाललगायत विकासोन्मुख देशहरुमा रेटिनोब्लास्टोमाबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ तर विकसित देशहरुमा भने पाँच प्रतिशतभन्दा कम भएको विभिन्न अध्ययनहरुले देखाएको छ । बालबालिकामा हुने क्यान्सर मध्ये रेटिनोब्लास्टोमा क्यान्सर पाँच प्रतिशतमा देखिने गर्छ ।  

यो एउटा जटिल रोग भए तापनि समयमा नै लक्षण पत्ता लगाई उपचार गरेमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै दृष्टि जोगाउन सकिने आँखा रोग विशेषज्ञ बताउछन् । 

यदि उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्ने आँखा उहाँ बताउनुहुन्छ। 

यसको प्रमुुख लक्षण भनेको आँखाको कालो नानीको बीच भागमा सेतो दाग देखिने गर्दछ । यस्तो लक्षण देखिए तापनि बालबालिका भने स्वस्थ नै देखिने भएकाले अभिभावकले ढिलो गरी उपचारमा लैजाने आँखा रोग विशेषज्ञ बताउँछन् । 

डा.राजकर्णिकार भन्नुहुन्छ, “हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जान ढिलाइ गर्छन् । यी नै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।” 

उहाँका अनुसार यसका अलावा रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका अन्य लक्षण हुन् । 

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ आँखा  रोग विशेषज्ञ बताउँछन् । “क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।” 

यो रोग लागेका बिरामीका अन्य सदस्यमा पनि यो रोग भएको हुनसक्ने भएकाले परिवारका अन्य सदस्यको आँखामा जाँच गराउन आँखा रोग विशेषज्ञको आग्रह छ । 

लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापीको माध्येमबाट यो रोगको उपचार हुने आँखारोग विशेषज्ञ बताउँछन् । 

तिलगङ्गा आँखा प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२.१ प्रतिशतमा रेटिनोब्लास्टोमा भएको देखिएको छ। 

प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुँदै आइरहेको छ । विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट उपचार भैरहेकाे छ। 

यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको प्रतिष्ठानले जनाएको छ । 

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाउँदैछ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।