• २१ पुस २०८१, आइतबार

दिक्तेल बजारमा वृहत् लाखे नाच प्रदर्शन

blog

शनिबार दिक्तेल बजारमा प्रदर्शन गरिएको लाखे नाँच । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, ८ भदौ ।
 खोटाङको दिक्तेलबजारमा वृहत् लाखे नाच प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाममा दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा शनिबार विभिन्न ठाउँको लाखे नाच प्रदर्शन गरिएको हो । दिक्तेलको किरातचोकबाट सुरु भएको लाखे नाच प्रदर्शनको कार्यक्रम बेसक्याम्प, त्रिबेणीचोक, शंखधर साख्वाचोक हुँदै हाटडाँडा पुगेर समापन गरिएको छ । लाखे नाच प्रदर्शनीमा दिक्तेल, सोल्मा, खाल्ले, बुईपा, खार्मी, राजापानी लगायतका ठाउँका लाखे टोलीले नाच प्रदर्शन गरेका छन् ।

नेवारी भेषभुषामा सजिएका विभिन्न ठाउँका नेवार समुदायको उपस्थितिले शनिबार दिक्तेलबजार गुञ्जायमान बनेको थियो । गाईजात्राको अवसरमा आपसी भाइचारा एवं संस्कृति संरक्षणका लागि लाखे नाच प्रदर्शन गरिएको दिक्तेलबजार सामाजिक गुठीले जनाएको छ । दिक्तेलबजार गुठीको आयोजनामा हरेक गाईजात्राको अवसरमा दिक्तेलमा लाखे नाच प्रदर्शन गर्ने गरिएको छ ।

नेवार समुदायले आयोजना गरेको लाखे नाच प्रदर्शनमा सबै समुदायको बाक्लो उपस्थिति रहेको थियो । अघिल्लो वर्षहरू भन्दा यो वर्ष भव्यरुपमा जात्राहरू मनाइएको दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठले बताउनुभयो । यो वर्ष ८० वर्ष पुगेका वृद्धवृद्धाहरुलाई सम्मान पनि गरिएको उहाँको भनाइ छ । “ल्होसारमा सेलो नाचौँ, साकेलामा सिली, लाखे नाचौँ, बालन नाचौँ सबै जाती मिली” भन्ने नारासहित सबै समुदाय मिलेर यस्ता संकृतिहरु जोगाउन लाग्नु पर्ने उहाँको भनाइ छ । सबै समुदायका संस्कृति जगेर्ना र दिक्तेलको विकासका लागि दिक्तेल सरोकार केन्द्र गठन गरिएको श्रेष्ठले बताउनुभयो ।