• २७ फागुन २०८१, मङ्गलबार

मुगुका सरकारी कार्यालयबाट एक अर्ब बढी बजेट फिर्ता

blog

हरिकृष्ण ऐडी 

मुगु, भदौ ८ गते । गत आर्थिक वर्ष २०८०-८१ मा यहाँका सरकारी कार्यालयको एक अर्ब भन्दा बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । सङ्घ र प्रदेश सरकार मातहतका यहाँका स्थानीय निकाय र सरकारी कार्यालयबाट एक अर्ब दुई  करोड १२ लाख ८४ हजार एक सय ४३ रुपियाँ  खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जानकारी दिएको छ।

प्रादेशिक कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका लेखा अधिकृत भक्तिप्रसाद काफ्लेका अनुसार प्रदेश सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ  ५८ करोड ३२ लाख ३७ हजार बजेट आएको थियो । उक्त स्वीकृत बजेटमध्ये  ४९ करोड ४८ लाख ७८ हजार ७० रुपियाँ  खर्च भएको छ । यस्तै, पुँजीगततर्फ एक अर्ब एक करोड ६५ लाख पाँच हजार पाँच सय रुपियाँ  बजेट आएको र सोमध्ये ४८  करोड आठ लाख ३१ हजार नौ सय ४० रुपियाँ  खर्च भएको उहाँले बताउनुभयो।जिल्लाका प्रादेशिक मातहतका कृषि विकास कार्यालय, खानेपानी सिचाइ तथा ऊर्जा विकास  कार्यालय, पशु अस्पताल तथा सेवा कार्यालय, भौतिक पुर्वधार विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, सामाजिक विकास कार्यालय, बागवानी विकास केन्द्र दार्म हुम्ला, त्यसै गरी जिल्लाका स्थानीय निकाय  गएको आर्थिक वर्षमा  ६२ करोड ४० लाख ३२ हजार चार सय ९० रुपियाँ जिल्लामा खर्च हुन नसकेर फिर्ता गएको लेखा अधिकृत काफ्ले बताउनुभयो ।

सङ्घीय मातहतको कोष तथा लेखा नियन्त्रण  कार्यालयका लेखापाल  धर्मराज न्यौपानेका अनुसार जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँ पालिका, खत्याड गाउँ पालिका त्यसै गरी मुगुमकार्मारोङ गाउँ पालिकाका  गरी ३९ करोड ७२ लाख ५१ हजार छ सय ५३ रुपियाँ खर्च हुन नसकेर फिर्ता गएको छ।