• १० मंसिर २०८१, सोमबार

थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

blog

दुर्घटनाग्रस्त विमानको खोजी गर्दै उद्धारकर्ता । तस्बिर : सिन्ह्वा

बैङ्कक, भदौ ७ गते । थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । 

विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् । 

दुई पाइलट तथा सात जना यात्रुसहित नौ जना सवार जहाज बैङ्ककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको छ । 

दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई  जानकारी दिनुभयो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए ।

दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेका छन् ।

खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको  अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले बेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने  उल्लेख गर्नुभयो । रासस/एएफपी