• २० वैशाख २०८१, बिहिबार

हारबाट जोगियो लिभरपुल

blog

लिभरपुलविरुद्ध गोल गरेपछि टोट्टनहामका ह्युङ मिन सन । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले टोट्टनहामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

यस बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ । प्रतिस्प्रर्धात्मक खेलमा टोट्टनहामका ह्युङ मिन सनले गोल गर्नुभयो । लिभरपुलका लुइस डियाजले बराबरी गोल फर्काउनुभयो । 

खेलमा सुरुवाती अग्रता टोट्टनहामले लिएको थियो । सनले ५६औँ मिनेटमा रेयान सेसेग्ननको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७४औँ मिनेटमा लुइस डियाजले थियागो अलकान्तराको पासमा गोल गर्दे लिभरपुललाई हारबाट जोगाउनुभयो ।

बराबरीसँगै शीर्षस्थानमा रहेको लिभरपुलले ३६ खेलबाट ८३ अंक बनाएको छ । एक खेल कम खेलेको सिटी ८३ अंक सहित दोस्रो स्थानमा छ । ३५ खेलबाट ६२ अंक बनाएको टोट्टनहाम पाँचौँ स्थानमा छ । अन्य खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४–० गोलले पराजित भएको छ । चेल्सीले वल्भ्ससँग २–२ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी