रामकृष्ण बोहरा
बागलुङ, वैशाख ८ गते । केही दिनदेखि अदुवाबारी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका–४, जलजलामा वन डढेलो बस्तीमा पस्दा घरमा ठुलो क्षति भएको हो।
बडिगाड गाउँपालिका–५, ग्वालीचौरस्थित अदुवाबारी सामुदायिक वनमा लागेको आगो फैलिँदै वडा नं. ४, जलजलाको दिपपार कुलो नजिकै रहेको ५७ वर्षीया चन्द्री बुढाको जस्तापाताले छाएको दुईतले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएका छन्। स्थानीय, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
सोमबार दिउँसो फैलिएको आगलागीले घर पूर्ण रूपमा ध्वस्त भएको ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सम्मरबहादुर लम्तरीले पुष्टि गर्नुभयो। आगलागीका क्रममा गोठमा बाँधिएको एउटा भैंसी पनि जलेर गम्भीर घाइते भएको उहाँले बताउनुभयो।
आगलागीबाट भएको क्षति र डढेलो कसले र किन लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
चन्द्री बुढाका तीन छोरा र एक छोरीसहितको परिवार अहिले घर नजिकैको गोठमा बस्न बाध्य भएको प्रहरीको भनाइ छ।