• ८ वैशाख २०८३, मङ्गलबार

भिटामिन ‘ए’ खुवाउने अभियान प्रभावित

blog

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल । तस्बिर : नन्द सिंह

रलिङ समाचारदाता 

रलिङ (हुम्ला), वैशाख ८ गते । हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित भएको छ । समयमै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी नपुग्दा राष्ट्रिय खोप तथा पोषणसम्बन्धी अभियान प्रभावित भएको हो ।

पाँच वर्षमुनिका बालबालिकालक्षित सञ्चालन भएको यो अभियानमा औषधी आपूर्तिमा भएको ढिलाइका कारण सेवा प्रवाह अवरुद्ध भएको चङ्खेली गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताउनुभयो । जिल्लाभर सञ्चालन भइरहेको अभियानका क्रममा आवश्यक औषधी भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमै उपलब्ध नहुँदा बालबालिकाले पाउनुपर्ने आधारभूत पोषण तथा स्वास्थ्य सेवा अवरुद्ध भएको र दुर्गम बस्तीमा औषधी नपुग्दा समस्या झन् गम्भीर बन्नुका साथै यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढाएको उहाँको भनाइ छ । 

दुर्गम भौगोलिक अवस्था, ढुवानी चुनौती र व्यवस्थापन कमजोरीलाई कारण देखाइए पनि यस्तो समस्या बारम्बार दोहोरिनु नीतिगत सुधारको अभाव, पूर्वतयारी र समन्वयमा गम्भीर कमी रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयले देखाएको असहजता र कर्णाली प्रदेश आपूर्ति केन्द्रको ढिलाइबिचको समन्वय अभावले हुम्लाका बालबालिका उक्त सेवाबाट प्रभावित भएका छन् । कर्णाली प्रदेश औषधी आपूर्ति केन्द्रबाट ढिलाइ भएपछि यो समस्या उत्पन्न भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले बताउनुभयो ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम कम्तीमा एक हप्ताअघि नै सम्बन्धित स्वास्थ्य संस्थामा औषधी पुगिसक्नुपर्ने व्यवस्था भए पनि यस पटक वैशाख ४ गते मात्र कर्णाली प्रदेश औषधी आपूर्ति केन्द्रले उपलब्ध गराएको थियो । ती औषधी अझै पनि ढुवानी हुने क्रममा रहेकाले जिल्लाका सबै स्थानीय तहमा समयमै वितरण गर्न नसकिएको जानकारी डा. तिवारीले दिनुभयो । 

उहाँले दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उल्लेख गर्दै समयमै आपूर्ति नहुँदा सबै स्वास्थ्य संस्थामा औषधी पु¥याउन कठिन भएको हुँदा अभियान प्रभावित भएको स्विकार्नुभयो । उहाँले सबै स्वास्थ्य संस्थामा औषधी आपूर्ति तथा ढुवानी भएपछि मात्र जिल्लामा पुनः सो अभियान सञ्चालन गरिने बताउनुभयो । पाँच वर्षमुनिका बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रममा समयमै औषधी पु¥याउनुपर्ने माग गरिएको छ ।