गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने बताउनुभएको छ । सातौँ राष्ट्रिय पत्रकारिता दिवस २०७९ का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालको प्रेस जगत्ले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार पत्रकारिता लोकतन्त्रमा अपरिहार्य कुरा हो । नागरिकलाई सही तथ्य र सूचना प्रवाह गराउने काम प्रेसले गर्नुपर्छ ।”
प्राकृतिक विपत्ति, महामारीजस्ता राष्ट्रिय समस्या परेका बेला नेपाली सञ्चार जगत्ले आमनागरिकलाई सुसूचित पारेको र सही सूचना प्रवाह गरेकोप्रति राष्ट्रपति भण्डारीले नेपाली पत्रकारिता जगत्को सराहना गर्नुभयो । उहाँले सञ्चारमाध्यममा आउने समाचारले कसैमाथि अन्याय हुन नहुनेतर्फ सचेत बन्नसमेत नेपाली प्रेसलाई आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा लोकतन्त्र प्राप्ति र संस्थागत विकास गर्न नेपाली प्रेसले खेलेको भूमिका उल्लेख्य रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको कल्पना गर्न पनि नसकिने बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले स्वतन्त्र प्रेस र सरकार एकैसाथ हिँड्न नसके जनताको समृद्धिको सपना पूरा हुन नसक्ने बताउनुभयो । वर्तमान सरकार प्रेस जगत्को रक्षा र प्रवद्र्धन गर्न जहिले पनि तयार रहेको बताउँदै उहाँले सरकारका कमीकमजोरी निर्भीकतासाथ कोट्टयाई सरकारलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालको पत्रकारिता क्षेत्रको हरेक राजनीतिक परिवर्तनमा हिस्सेदारी र साझेदारी रहँदै आएको भए पनि बेलाबेला सरकारले सञ्चार क्षेत्रलाई तर्साउने गरेको बताउनुभयो । उहाँले राज्यका निकायबाट सूचना प्राप्त गर्ने प्रक्रियामा हुने गरेका प्रक्रियागत ढिलासुस्ती र झन्झटलाई सरलीकरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले किशोर नेपाल र तारानाथ दाहाललाई वरिष्ठ पत्रकार सम्मान २०७८ बाट सम्मानित गर्नुभयो । यो पुरस्कारको राशि जनही दुई लाख रुपियाँ रहेको छ ।
त्यसैगरी, राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुने पत्रकार डीआर पन्त, इकवाल अहमद, ठाकुर बेल्बासे, बालकुमार नेपाल, गङ्गा बराल र सम्झना वनलाई पनि सोही अवसरमा पुरस्कृत गरियो । यो पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ । सरकारले हरेक वर्ष दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
त्यसैगरी, कोभिडका कारण वितरण गर्न नसकिएका वरिष्ठ पत्रकार सम्मान २०७६ बाट सम्मानित हुने स्व. अग्निशिखा र हर्ष सुब्बालाई यही अवसरमा प्रदान गरियो । त्यसैगरी, राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट उजिर मगर, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल शाहलाई प्रदान गरियो ।
त्यसैगरी, वरिष्ठ पत्रकार सम्मान २०७७ बाट शार्दूल भट्टराई र रघु मैनालीलाई सम्मान गरियो भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीप थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सरोजजङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई सम्मानित गरियो ।