• १२ पुस २०८१, शुक्रबार

तेक्वान्दोमा थप २० खेलाडी छानिए

blog

तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौँ, वैशाख २४ गते । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका थिए । 

कुल ४४ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका हुन् ।

पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा, नेपाल आर्मीका सगुन श्रेष्ठ तथा बाग्मती प्रदेशका रोहित महर्जन र रन्जित साउद छनोट हुनुभयो । ६३ केजीमुनि प्रहरीका गोविन्दबहादुर आले, मधेश प्रदेशका विक्रान्त डंगोल, बाग्मतीका रोजिन बमजन र एपीएफका मोहम्मद रफिक छानिनुभयो । 

८० केजीमाथि आर्मीका भुपेन श्रेष्ठ, एपीएफका निरज देउवा, बाग्मतीका मिलनकुमार बलामी र लुम्बिनी प्रदेशका आशुतोष बराल छनोट हुनुभएको छ । एकल पुम्सेको पुरुषमा प्रहरीका कमल श्रेष्ठ, प्रहरीकै जितबहादुर बोट, आर्मीका कृष्णबहादुर तामाङ र प्रहरीका प्रेमबहादुर लिम्बू प्रारम्भिक छनोटमा अटाउनु भएको छ । सोही स्पर्धाको महिलामा प्रहरीकी पार्वती गुरुङ, प्रदेश १ की स्वस्तिका तामाङ, प्रदेश १ की सुशिला राई र आर्मीकी प्रशंसा क्षेत्री छानिनुभयो ।