• १ असोज २०८१, मङ्गलबार

ओखलढुङ्गामा ७९ करोड विकास बजेट 'फ्रिज'

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन ३० गते । ओखलढुङ्गाबाट ७९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि विनियोजन भएर आएको तर समयमा काम नभएका कारण खर्च हुन नसकेको ७९ करोड रकम सङ्घीय सरकारको खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो । 

आर्थिक वर्ष २०८०–०८१ मा कुल ७९ करोड ३९ लाख ६२ हजार ३५५ रुपियाँ १६ पैसा रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका प्रमुख कोष नियन्त्रक मनोज कुमार जोशीले जानकारी दिनुभयो । प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च नभएको उक्त रकम फ्रिज भएको प्रमुख कोष नियन्त्रक जोशीको भनाइ छ । 

सङ्घ र प्रदेश दुबैतर्फ आर्थिक २०८०–०८१ मा जिल्लाका लागि कुल आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार ११५ रुपियाँ बजेट विनियोजन भएको थियो। उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार ३१६ रुपियाँ चालु र एक अर्ब १८ करोड १२ लाख ४७ हजार ५८१ रुपियाँ पुँजीगत रहेको थियो । 

त्यस्तै गत आर्थिक वर्षका लागि प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत बजेट एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्चको विवरण बर्सेनि घटेर आउने गरेको छ । 

विगतका वर्षदेखि नै सबैजसो स्थानीय तहले शत प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् । तथ्याङ्कले विकास बजेट खर्च नहुने देखाए पनि जिल्लाका दर्जनौँ आयोजना भने बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेका लिखु एकवार, मोलुङ एकवार, उच्चस्तरीय चक्रपथ सहितका सडक, दर्जनौँ सडक पुल सहितका पूर्वाधार विकासका काम वर्षौँदेखि बजेट अभावमा अधुरै छन् ।