• १६ भदौ २०८१, आइतबार

भिड्दै छक्कापन्जा–५ र ज्वाइँसाब

blog

काठमाडौँ, साउन ३० गते । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए । 

दीपक–दीपाले ‘छक्कापन्जा–५’ बनाइरहँदा जितु नेपालले ‘ज्वाइँसाब’ बनाउनुभएको छ । छक्कापन्जा–५ मा केदार घिमिरे, निर्मल शर्मा जस्ता हास्य कलाकारको अभिनय छ । ज्वाइँसाबमा बुद्धि तामाङ र हिमेश पन्त जस्ता हास्य कलाकार छन् । कथाभन्दा बढी कमेडीप्रधान बनाउँदै आएका दीपक–दीपाको छक्कापन्जा–५ र जितु अभिनीत ज्वाइँसाब चलचित्रको प्रदर्शन मिति एकै दिन तोकिएको छ । यसले समेत दीपक–जितुको व्यावसायिक भिडन्तका रूपमा चलचित्र क्षेत्रमा बुझिन थालिएको छ । 

‘छक्कापन्जा–५’ को सोमबार पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको थियो । ज्वाइँसाबको मङ्गलबार पहिलो पोस्टर सार्वजनिक गरिएको छ । छक्कापन्जा–५ मा दुई व्यक्तिको प्रेमकथा देखाइएको ‘बिहे भाको छैन’ गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ ।  गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द तथा शर्माकै सङ्गीत छ । सुनील क्षेत्रीले कोरियोग्राफी गर्नुभएको गीतको भिडियोमा दीपकराज गिरी र वर्षा शिवाकोटीको अभिनय रहेको छ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाईंको छायाङ्कन छ । कलाकार दीपकराज गिरीका अनुसार चलचित्र दसैँमा प्रदर्शन गर्ने भनेर पाँच महिनाअघि नै घोषणा गरिएको हो । 

उहाँले भन्नुभयो, “हामीसँग चलचित्र जुधाउन आउनुले खासै केही तुक राख्दैन । जेठान आउँथ्यो होला ज्वाइँ आयो । साधारण कुरा हो । आफ्नो कर्म गर्ने हो महाभारतमा ठुलाबाउ, काकाबाउ त लडेका थिए, यहाँ त साथीभाइ भिड्दै छौँ ।” चलचित्र ‘ज्वाइँसाब’ का निर्देशक वसन्त निरौलाका अनुसार छक्कापन्जा–५ को प्रदर्शनसँग चलचित्र जुधाउने हिसाबले प्रदर्शन गर्न लागेको होइन । त्यही मितिमा प्रदर्शन समय पाएको हुनाले यस्तो पर्न गएको हो । 

उहाँले भन्नुभयो, “हामीले ठुलो ब्रान्डको चलचित्रसँग कहाँ भिड्न सक्छौँ र ? यदि दसैँमा प्रदर्शन नगरिए एक वर्षसम्म चलचित्रको प्रदर्शनको समय पाउन मुस्किल रहेको छ । हामीले प्रदर्शन समय नै पाउँदैनौँ ।” निरौला निर्देशित चलचित्र ‘ज्वाइँसाब’ मा जितु नेपालको प्रमुख भूमिका छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा जितुलाई नायिका नीति शाहले साथ दिनुभएको छ । चलचित्रमा बुद्धि तामाङ, शिशिर बाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारको अभिनय रहेको छ ।