• १० मंसिर २०८१, सोमबार

विचार नपुर्‍याए मत बदर हुन सक्छ

blog

काठमाडौं, वैशाख २२ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा  मतदाताले मत सङ्केत गर्दा विचार पुर्‍याए ए मत बदर हुन सक्ने सम्भावना रहन्छ । मतदाताले मत सङ्केत गर्दा विचार पुर्‍याएर मतदान गर्नुपर्ने हुन्छ अन्यथा मत बदर हुन सक्छ । 

निर्वाचन आयोगका सहन्यायाधिवक्ता गुरु वाग्लेले भन्नुभयो, ‘‘मतदान शिक्षा कार्यक्रम सञ्चालन भए पनि विचार पुर्‍याए  मतदान नगर्दा मतपत्र बदर हुन सक्ने सम्भावना रहन्छ ।’’ 

‘‘गाउँपालिका र नगरपालिकामा एक–एक जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुने छन्, पालिकामा प्रत्येक वडामा पाँच सदस्यीय निर्वाचित वडा समिति रहन्छ, त्यसकरण नआत्तिकन मत सङ्केत गर्नुपर्छ’’ वाग्लले भन्नुभयो । स्थानीय तह निर्वाचन, वैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको अवधि तोकिएको छ ।

अधिकांश मतदाता ग्रामीण क्षेत्रकै रहेकाले घरदैलोमा आएका उम्मेदवारले मत माग्ने मात्र होइन मतसङ्केत कसरी गर्ने त्यो पनि सिकाउनु पर्ने भनाइ न्यायाधीवक्ता वाग्लेको छ । 

चुनावमा केही स्थानीय तह र वडामा फरक दलबीच गठबन्धन भएकाले आ–आफ्नै चुनाव चिह्न छ । एउटा पालिकामा सातजनालाई भोट दिनुपर्ने हुन्छ । तर त्यो कुरा धेरै मतदातालाई थाहा नहुने हुँदा सुरुको मतदान चिह्नमा छाप लगाएर पछिकोमा नलगाउने गरेको विगतमा देखिएको पाइएको वाग्लेको अनुभव छ । 

घरदैलो अभियान प्रभावकारी भएन भने मत बदरको सङ्ख्या अझ बढ्न सक्ने उहाँको चिन्ता छ । अबको तीन-चार दिनमा नमूना मतदान कार्यक्रम गर्ने योजना रहेको निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । ‘शून्य समय सुरु हुन केही दिनअघि नमूना मतदान कार्यक्रम गरिसक्नु पर्ने हुन्छ, त्यो अनुसार अब समय भइसकेको छ,’ श्रेष्ठले भन्नुभयो । शून्य समय अर्थात् (मौन अवधि) वैशाख २७ गते राती १२ः०० बजेदेखि लागू हुने छ । 

मौन अवधि लागू भएपछि चुनाव प्रचार–प्रसार गर्न नपाइने, भेला गर्न नपाइने, मतदातालाई प्रभाव पर्ने गरी कुनै पनि गतिविधि गर्न पाइदैन भने चुनावको दिन यातायात पनि ठप्प हुने उहाँले जानकारी दिनुभयो ।  

मतपत्र बदर हुने अवस्था :

– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,

– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,

– मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,

– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,

– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,

– कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,

– निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,

– मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,

– आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,

– मतपेटिका भन्दा बाहिर राखिएको,

– जाली मतपत्र ।

निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ

– मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।

– निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याने ।

– मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हूलदङ्गामा नलाग्ने ।

– मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने ।

– मतदानको दिन सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने ।

– आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ ।

– कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।

– कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि गरेमा कानून बमोजिम कारबाही हुनेछ । 

निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :

– शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं,

– सूचनाको विश्वसनीयता जाँच गरौँ,

– निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं,

– निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं,

– कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी-गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,

– कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ । 



Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।