• २३ भदौ २०८१, आइतबार

कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौँ, साउन २० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ।

आइतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी सङ्घको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

उहाँले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताउनुभयो। उहाँले पार्टीले गर्ने निर्णयलाई शुद्ध र पवित्र राख्ने पनि बताउनुभयो। उहाँले पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्। बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयको कारणले गर्दा तपाईँको कसैको शिर ननिहुरियोस्। कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ। त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढङ्गले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ। यसलाई शुद्ध राख्ने, पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ। पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ। गल्ती कमजोरी सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउँछौँ। कांग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईँहरूको चाहना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ।’’

उहाँले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नुहुने अग्रजलाई सम्मान गर्ने बताउनुभयो।