• १४ असार २०८१, शुक्रबार

गठबन्धनको सङ्कल्पपत्र

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २२ गते  । गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । पाँच वर्षभित्र गर्न सकिने विकास निर्माण तथा विकास साझेदार निकायसँग गर्न सकिने समन्वयबारे मतदातालाई जानकारी दिन सङ्कल्पपत्र सार्वजनिक गरिएको बताइएको छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारको तर्फबाट सार्वजनिक भएको सङ्कल्पपत्रमा एकल पुरुषलाई भत्ता उपलब्ध गराउनेदेखि बहुराष्ट्रिय कम्पनी र विदेशी विकास साझेदार ल्याउने नीति उल्लेख गरिएको छ । 

यस्तै स्थानीय गाउँपालिकाले विगतका वर्षमा सार्वजनिक सुनुवाइ गर्न नसकेकाले आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक सुनुवाइलाई अनिवार्य गर्ने र सामाजिक लेखा परीक्षणलाई अनिवार्य गर्ने सङ्कल्प गरिएको छ । गाउँपालिका र सबै वडाबाट प्रवाह हुने सेवालाई सहज बनाउने तथा हेलो गाउँपालिका कार्यक्रम सञ्चालन गर्नेलगायतको सङ्कल्प पनि गरिएको छ । गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न वडा कार्यालयबाटै सेवा प्रवाह गर्ने नीति लिइने सो पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नगरपालिका स्थापनाका लागि आवश्यक पहल गर्ने, वडाको सङ्ख्या बढाउने, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई गाउँपालिकाको सहकार्य र समन्वयमा क्रियाशील बनाउने, अनिवार्य कर असुल गर्ने, गाउँपालिकाका योजना निर्माण तथा कार्यान्वयनका लागि विज्ञ समूह गठन गर्ने र विकासमा देखिने दोहोरोपनालाई हटाउने नीति बनाइनेलगायतका विषय साझ सङ्कल्पपत्रमा समेटिएको छ । 

पर्यटकीय क्षेत्रको विकास, आयआर्जन वृद्धि गर्न एक घर एक व्यवसायको नीति ल्याइने उल्लेख गरिएको छ । पर्यटकका लागि हालको महंगो हवाई भाडा पुनः निर्धारण गर्न पहल गर्ने, तरकारी खेती र फलफूल खेतीमा  आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउने, दूध तथा मासुका लागि आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने, जग्गाको चक्लाबन्दी, उत्पादन वृद्धि र बजारीकरणमा जोड दिने, कृषि बीमा कार्यक्रम लागू गर्ने कुरा उल्लेख गरिएको  छ । दुई दलीय वार्ता समितिका सदस्य काँग्रेस उपसभापति वसन्त रोकायाले उक्त सङ्कल्पपत्र गठबन्धन दलका तर्फबाट सार्वजनिक गरेको बताउनुभयो ।