रजनी योगी
सुर्खेत, वैशाख ७ गते । बर्सेनि वन मासिँदै गएको छ । वन मासिनुमा सबैभन्दा ठुलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन ।
डढेलोकै कारणले सामुदायिक वन छियाछिया बनेको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा कर्णालीको राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन् । डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण थप बढेको वीरेन्द्रनगरका स्थानीय जगत थापाले बताउनुभयो ।
उहाँले वनमा ढडेलो लाग्दा जङ्गली जनावर बस्तीमा पस्ने गरेको सुनाउनुभयो । यो वर्षको हालसम्म वीरेन्द्रनगरका दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको छ । छिताबारी सामुदायिक वनका कोषाध्यक्ष रमा योगीका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछन् ।
उहाँले पर्याप्त जनशक्ति र उपकरण अभावले जङ्गलैभर लागेको डढेलो निभाउन आफूहरू असमर्थ भएको सुनाउनुभयो । एकातिर गर्मी अर्कातिर लामो समयदेखिको खडेरी, जसले गर्दा वन क्षेत्रमा लागेको डढेलोले चाँडै फैलिन पाउने उहाँको भनाइ छ ।
समुदायमा रहेका केही गलत सोचका कारण मानिसले जङ्गलमा आगजनी गर्ने गरेको जनाइएको छ । सामुदायिक वनमा विमति राख्नेहरूले डढेलो लगाउँदा उपभोक्ताले दुःख पाउने गरेका छन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिङ्गर र सुकेका ढलापडा काठले डढेलो फैलाएको वन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
वनमा लाग्ने डढेलो नियन्त्रणका लागि विभिन्न सचेतनाका कार्यक्रम राखिएको कार्यालयका वरिष्ठ वन अधिकृत भरतकुमार थापाले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष वनमा डढेलो फैलिने गरेको छ । साधन स्रोत र जनशक्ति अभावका कारण डढेलो नियन्त्रणमा चुनौती हुने गरेको थापाले जानकारी दिनुभयो ।
अहिले कार्यालयमा सात जना शसस्त्र वन रक्षक रहेका छन् । डढेलो नियन्त्रणका लागि पानी ट्याङ्की मात्र रहेको छ । यो वर्ष मात्र वीरेन्द्रनगरका पाँच वटा स्थानमा डढेलो लागेको कार्यालयले जनाएको छ । स्थानीय र कार्यालयको पहलमा पाँचै ठाउँमा डढेलो नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत थापाले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले पनि वन संरक्षणका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ । तर पनि बर्सेनि रूपमा वन मासिँदै गइरहेको छ । आर्थिक वर्ष २०८०–८१ मा ६ हजार ७२१ हेक्टर राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको थियो । यसैगरी आर्थिक वर्ष २०८१–८२ मा एक हजार २०० हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । यो वर्ष पनि विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।
डढेलोको कारण कार्बन उत्सर्जनमा वृद्धि भएको छ । वातावरण प्रदूषित भएको छ । सन् २०४५ सम्ममा नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसलाई यसले चुनौती दिएको छ । मानव तथा जीवजन्तुको स्वास्थ्यमा नराम्रो असर परेको छ ।
जनधनको क्षति भएको, जीवजन्तु तथा बोटबिरुवामा क्षति भएको, लोप हुन लागेका प्रजाति विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्याएको छ । यति मात्र होइन, वनमा रहने सर्प, बिच्छीलगायत जीव डढेलो छल्न मानव बस्तीतिर पस्छन् । फलस्वरूप किट आतङ्क बढ्छ ।
हरेक वर्ष लाग्ने डढेलोको कारण पानीका मुहान सुक्दै गएका छन् । ढलेसुकेका काठ, बहुमूल्य जडिबुटी नष्ट भएको छ । कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन र अन्य प्राङ्गारिक ग्यास पैदा हुन्छ । यी ग्यासले वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गई वायुमण्डलको तापक्रममा वृद्धि हुन्छ । त्यसले समग्र जैविक विविधतामा असर पुग्ने विज्ञहरूको भनाइ छ ।