• ७ वैशाख २०८३, सोमबार

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल

blog

नेपाली का‌ग्रेसको बागमती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौँडामा आयोजित कार्यक्रमका सहभागी ।

काठमाडौँ, वैशाख ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हारजितको अवस्था सिर्जना नगरी आगामी यात्राको स्पष्ट बाटो तय गरिदिएको बताउनुभएको छ ।

बागमती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीभित्रका सबै पक्षलाई एकजुट बनाएर आगामी अधिवेशनसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अदालतले सिर्जना गरिदिएको स्थितिलाई अवसरका रूपमा लिँदै सबैलाई एउटै बाटोमा हिँडाउने बताउनुभयो ।

अहिले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिँदै महामन्त्री पौडेलले यसमा कसैलाई छनोट गर्ने वा विभेद गर्ने सुविधा नभएको स्पष्ट पार्नुभयो ।

उहाँले वडा सभापतिहरूलाई सदस्यता वितरण र नवीकरणको कार्य इमानदारितापूर्वक सम्पन्न गर्न आग्रह गर्नुभयो । कसैले सदस्यता माग गरेको खण्डमा कुनै पनि बहाना नगरी सदस्यता उपलब्ध गराउन र छुटेका पुराना साथीहरूलाई नवीकरणमा समेट्न उहाँले निर्देशन दिनुभयो ।

पार्टीको साङ्गठनिक अवस्थाबारे चर्चा गर्दै महामन्त्री पौडेलले क्रियाशील सदस्यको सङ्ख्या धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा सदस्य सङ्ख्या बराबर वा सोभन्दा कम मत आएको स्मरण गराउनुभयो ।

विगतमा अन्य दललाई मतदान गरेका व्यक्तिहरू पनि अहिले कांग्रेसमा आउन चाहेको खण्डमा उनीहरूका लागि अनुकूल वातावरण तयार पार्न कार्यकर्तालाई उहाँको आग्रह थियो ।

आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महामन्त्री पौडेलले डिजिटल प्रविधिबाट भइरहेको सदस्यता नवीकरणले नै पार्टीको जितको आधार तय गर्ने दाबी गर्नुभयो ।

विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो दायित्व पूरा नगर्ने हो भने स्थानीय चुनाव जित्न कठिन हुने उहाँको भनाइ थियो । नागरिकसँग कसरी जोडिने भन्नेबारे सङ्गठनले ठोस योजना तय गरेको उल्लेख गर्दै उहाँले आफू आबद्ध सङ्गठनलाई गतिशील बनाउन सबैलाई आह्वान गर्नुभयो । सङ्गठित संरचनाले सहयोग गरेमा मात्रै पार्टीलाई छिटो र सजिलोसँग रूपान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।