शङ्कर केसी
सल्यान, वैशाख ७ गते । सल्यानमा आगलागीबाट तीन घर र एक गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-१०, खानीगाउँमा सोमबार दिउँसो आगलागीका कारण तीन घर र एक गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दिउँसो करिब १ः३० बजे स्थानीय तेज बहादुर पुनको गोठमा एक्कासि आगलागी भएको थियो ।
आगो फैलिँदै जाँदा सोही स्थानका थमन घर्तीको दुई तले तीन कोठे खरले छाएको कच्ची घर, जीवन पुनको दुईतले चार कोठे खरले छाएको कच्ची घर र खुम बहादुर पुनको तीन तले चार कोठे खरले छाएको कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
घटनाबारे स्थानीय बिमलराज डाँगीले दिउँसो २ बजे टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट बाबियाचौरबाट प्रहरी हवल्दार चुकबहादुर रावलको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो निभाइएको थियो । प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
यसैबिच प्रहरी प्रशासनले आगलागीका घटनाबाट बच्न खुला स्थानमा आगो बाल्दा विशेष सावधानी अपनाउन तथा खेतबारीमा घसेटा, नल, पराल जलाउँदा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।