• १४ असार २०८१, शुक्रबार

लमजुङमा नमुना मतदान : मतदाता शिक्षाको अभाव

blog

बेलिना थापा
लमजुङ, वैशाख २१ गते ।
मतदाता शिक्षाका लागि लमजुङमा नमुना मतदान गरिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेको अवस्थामा नमुना मतदान गरिएको हो ।

विगतका वर्षमा चुनाव नजिकिँदै गर्दा मतदाता शिक्षा सञ्चालन भएकोमा यसपटक नभएको हो । मतदाता शिक्षा नहुँदा मत बदरको सम्भावना बढी हुने भएकाले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताउनुभयो ।उहाँका अनुसार मतदाता शिक्षा सञ्चालन भएको वर्षमा समेत मत बदर हुने गरेको पाइएकाले यस वर्ष मतदाता शिक्षा नभएकले नमुना मतदान गरिएको हो ।

बेंसीशहर नगरपालिका–८ स्थित फुलबारी मञ्चमा नमुना मतदान केन्द्र बनाई नमुना मतदान गरिएको हो । नमुना मतदान केन्द्रमा महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो । प्रवेश गर्ने ठाउँमा म्यादी प्रहरी खटिएका थिए । नमुना मतदान मतपेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी खटिएका थिए । मतदान केन्द्रमा सातजना कर्मचारी खटिएका थिए । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सहायक कर्मचारी थिए । 

लाइनमा बसेका मतदाताले पालैपालो मतदान गरेका थिए । ३० जना नमुना मतदाताले मतदान गरेका थिए । चार जना महिला र २६ जना पुरुष थिए । खसेको मतमध्ये सात वटा मत बदर भएको थियो । सात ठाउँमा भोट हाल्नुपर्छ भन्ने ज्ञान मतदातामा अभाव भएको पाइएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो । केहीले एउटा पदको चिह्नमा मात्र र केहीले एउटै पदमा दुईजनालाई भोट हालेको पाइएको थियो ।

यसपटक मतदाता शिक्षा नभएका कारण यस्तो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘निर्वाचन हुन केही दिन बाँकी छ । यो अवधीमा सहि रुपमा मतदान गर्ने तरिकाबारे नागरिकलाई जानकारी गराउनुपर्छ । मतदान गर्ने तरिकाबारे सूचनामूलक सन्देश प्रवाह गरेका छौं ।’’

जिल्ला निर्वाचन अधिकारी मिश्रले सञ्चार माध्यममार्फत मतदाता शिक्षा दिँदै आएको बताउनुभयो । मतदाता शिक्षाको कमीका कारण मत बदर हुने बताउनुभयो । यसबारे राजनीतिक दलहरुले सक्रिय रुपमा लागेर सिकाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले नमुना मतदान अभ्यास गर्दा कतिपय मतपत्र बदर भएको बताउनुभयो ।

मतदाता शिक्षाबारे ज्ञान भएकाले गाउँगाउँमा पुगेर सिकाउनुपर्ने बताउनुभयो । स्थानीय पत्रपत्रिका, रेडियो जस्ता सञ्चारमाध्यमबाट सात ठाउँमा छाप लगाउनुपर्ने कुरा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

नमुना मतदानमा जिल्ला प्रहरी कार्यालय लमजङका प्रहरी निरीक्षक जगदिश रेग्मी, राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी, जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जिबाखर शर्मालगायतको उपस्थिति थियो ।