• १२ साउन २०८१, शनिबार

दुष्ट बकुल्लो चलाख गँगटो

blog

एकादेशमा वनको बिचमा अनेकानेक जलचरले युक्त एउटा ठुलो जलाशय थियो । त्यसै जलाशयको किनारमा वृद्धावस्थाका कारण माछा मारेर खान असमर्थ एउटा बकुल्लो पनि बस्थ्यो । 

एक दिन भोकले आकुलव्याकुल त्यो बकुल्लो धर्धरी रोइरहेको थियो । ठिक त्यही बेला त्यही जलाशयमा बस्ने एउटा गँगटो र अन्य जलचर बकुल्लाको हालखबर बुझ्न आइपुगे किनभने उनीहरूले बकुल्लाले निःशब्द मोतीका दाना जस्ता आँसु बगाइरहेको अनि केही नखाई बसेको देखेका थिए ।   

गँगटोले बकुल्लोलाई सम्बोधन गर्दै भन्यो, “हे मामा ! आज तपाईंले भोजनको मेलोमेसो पनि गर्नुभएको छैन, रुँदै अनि लामो सास फेर्दै एकदमै शान्त भएर बस्नुभएको छ । किन ? तपाईंलाई के भयो ?”

बकुल्लोले भन्यो, “तपाईंले सही अनुमान गर्नुभो बाबु ! माछा धेरै खाइयो, पाप धेरै कमाइयो, त्यसैले प्रायश्चित्तस्वरूप अबदेखि माछा नखाने बरु प्राण त्याग गर्ने व्रत धारण गरी बसेको छु । त्यसैले त नजिकै आएका माछा पनि खाइरहेको छैन !” 

बकुल्लाको कुरो सुनेर गँगटोले सोध्यो, “हे मामा ! के कति कारणले तपाईंमा यस्तो वैराग्यभाव जाग्यो ? हामीलाई पनि बताउनुस् न ।” बकुल्लाले खुइøय गर्दै भन्यो, “यही सरोवरमा मेरो जन्म भयो, यहीँ बुढो पनि भएँ अब त । छिटै १२ बर्से अनावृष्टि सुरु हुँदै छ भन्ने मैले सुनेको छु ।”

गँगटोले सोध्यो, “कसले सुनायो तपाईंलाई यो कुरा, मामा ?”  बकुल्लोले भन्यो, “दैवज्ञ (देव जान्नेहरू) ले सुनाए भान्जा मलाई यी कुरा । छिटै नै शनिश्चरले रोहिणी नक्षत्रको भेदन गरी मङ्गल तथा शुव्रmसँग योग गर्ने छ । आचार्य बराहमिहिरको मत छ । शनिले रोहिणी नक्षत्रको भेदन गरेको बेला इन्द्रले १२ वर्षसम्म पृथ्वीमा पानी पार्दैनन् । रोहिणीको भेदन हुँदा पृथ्वीले आफँैलाई पापिनी ठान्न थाल्दछिन् । प्रायश्चित्तस्वरूप भष्म तथा दाहसंस्कार गरेपछि बाँकी रहेको हड्डी शरीरमा धारण गर्छिन् (खडेरीका कारण पृथ्वीमा खरानी तथा मरेका जनावरको हड्डीबाहेक केही बाँकी रहँदैन) ।

धेरै के भनूँ, कथं शनि, मङ्गल तथा चन्द्रमामध्ये कुनै एकले रोहिणी नक्षत्रको भेदन गरेमा सम्पूर्ण विश्व अनिष्टको सागरमा डुबेर नष्ट हुन्छ ।       

चन्द्रमा रोहिणी नक्षत्रमा प्रवेश गरेमा मानिसहरू कहीँ उपायहीन भएर आफ्ना बालबच्चासमेत मारी खान्छन्, कहीँ प्रचण्ड गर्मीले प्रताडित भई दूषित पानीसमेत पिउन बाध्य हुन्छन् । यस सरोवरमा ज्यादै थोरै पानी छ । अनावृष्टि भयो भने त यो छिटै सुक्ने छ । सरोवर सुक्यो भने जलको अभावमा मसँगै हुर्केबढेका, खेलेका साथीहरू विनष्ट हुने छन् । उनीहरूसँगको वियोग सहन म कहाँ सकूँला ? त्यसैले मर्नका लागि यो अति कठोर, निराहार व्रत गरी बसेको छु । 

अहिले नातासम्बन्धीले ससाना जलाशयमा बसोबास गरिरहेका जलचरलाई धमाधम ठुला, गहिरा जलाशयमा स्थानान्तरण गरिरहेका छन् । गोही, सोँस, जलगैँडा आदि जनावर आफैँ गहिरा तथा ठुला जलाशयमा गइरहेका छन् तर यस जलाशयका जीवजन्तु भने निश्चिन्त भएर आफू बच्ने कुनै उपाय नगरी बसिरहेका छन् । खडेरी पर्दा यस जलाशयका जलचरको बिउसमेत शेष रहने छैन । आसन्न विपत्ति सम्झेर म रोइरहेको छु ।

बकुल्लाले भनेका कुरा गँगटोले अन्य जलचरलाई सुनाइदियो । खडेरी पर्ने कुरा सुनेर माछा, कछुवा आदि जलचर सबै डराए अनि बकुल्लासँग अनेक थरी नातासम्बन्ध गाँस्दै भन्न थाले, “हे मामा ! हे काका ! हे हजुरबा ! हे दाइ ! हाम्रो जीवनरक्षा हुन सक्ने कुनै उपाय छ कि ?” 

बकुल्लाले भन्यो, “यस सरोवरको नजिकै एउटा ज्यादै गहिरो जलाशय छ । कमलले ढपक्कै ढाकिएको त्यो जलाशय २४ वर्षसम्मै खडेरी परे पनि सुक्ने छैन । तपाईंहरूमध्ये कोही मेरो पिठ्युँमा चढ्नुहुन्छ भने तपाईंहरूको उद्धार गर्ने जिम्मा मेरो भयो लौ ।” 

जलचरले बकुल्लाको कुरा पत्याए । हे हजुरबा ! हे काका ! हे मामा ! हे दाइ ! आदि शब्दले सम्बोधन गर्दै उनीहरू बकुल्लावरिपरि झुम्मिए र सबैले मलाई पहिले लैजानुस्, मलाई पहिले लैजानुस् भन्दै तँछाडमछाड गर्न लागे ।

त्यो दुष्ट बकुल्लो हरेक दिन जलचरलाई ठुलो, गहिरो जलाशयमा लगिदिने नाममा केही पर रहेको ठुलो ढुङ्गामा लैजान्थ्यो र त्यहाँ ती प्राणीलाई पछारेर मारिसकेपछि आनन्दपूर्वक आफ्नो पेट भथ्र्याे । त्यति सबै गरिसकेपछि पुरानै सरोवरमा फर्केर कपोलकल्पित समाचार सुनाउँदै बाँकी जलचरको बुद्धि भुट्ने काम गथ्र्याे । यसरी नै उसको जीवन आनन्दपूर्वक बितिरहेको थियो । 

एक दिन गँगटोले तर्कपूर्ण भाषामा बडो मन छुने कुरा बोल्यो, “हे मामा ! यस जलाशयका जीवमध्ये मसँग हो नि सबैभन्दा पहिले तपाईंको सुमधुर, प्रेमयुक्त संवाद भएको । तपाईं भने मलाई बिर्सेर अन्य जलचरको उद्धारमा खटिइरहनुभएको छ, किन ? आज तपाईंले जसरी पनि मेरो प्राणरक्षा गर्नै पर्छ ।”

गँगटोको कुरा सुनेर दुष्टबुद्धि बकुल्लाले मनमनै सोच्यो, “हो त नि, माछा खाँदा खाँदा वाक्क भइया छ, कहिलेकाहीँ त यसो मुख पनि फेर्नु पर्छ । सधैँ माछा मात्रै कति खानु । आज यही गँगटोलाई चटनीका रूपमा ग्रहण गर्नुपर्ला ।” यस्तै सोचेर बकुल्लाले उक्त प्राणीलाई आफ्नो पिठिउँमा चढायो र वधशिला (त्यही ढुङ्गो जसमाथि बकुल्लाले अन्य जलचरलाई पछारेर माथ्र्याे र आफ्नो भोजन बनाउँथ्यो) तर्फ लाग्दो भयो । केही पर जानेबित्तिकै गँगटोले शिलाखण्डमाथि हाडहरूको ससानो पहाडै ठडिएको देख्यो अनि कुरो बुझिहाल्यो । यो त माछाका हाडको ‘पहाड’ पो हो त ! तर उसले बकुल्लोसँग यत्ति मात्र सोध्यो, “ए मामा ! तपाईंले भनेको ठुलो, गहिरो जलाशय अझ कति टाढा छ हँ ? तपाईं मलाई बोक्दा बोक्दा थाकिसक्नुभए जस्तो छ ।”

जमिनमा यस मूर्ख जलचरले मेरो केही हानि गर्न सक्दैन, आफ्नो पराव्रmम देखाउन सक्दैन, बकुल्लाले यस्तै सोच्यो र अलि उपेक्षापूर्ण भावले हाँस्दै भन्यो, “दोस्रो जलाशय छ नै कहाँ र ? यो सबै वास्तवमा मैले जिउनका लागि गरेको उपाय मात्रै हो । अब तँ पनि आफ्ना इष्टदेवको स्मरण गर किनभने छिट्टै तँलाई पनि यही ढुङ्गामा पछारेर मारी खाने छु ।” 

बकुल्लाले यति भनी के भ्याएको थियो, गँगटोले त्यसको कमलतन्तु जस्तो मसिनो घाँटी अँठ्याई तत्क्षण मारिदियो । यसरी गँगटोले दुष्टबुद्धि बकुल्लाको अन्त्य गरी बाँकी जलचरको जीवन बचायो ।