काठमाडौँ, मङ्सिर ३ गते । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।
जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।
दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदुरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । दुई खेलमा पहिलो हार खेपेको काठमान्डुको पनि दुई अङ्क छ । यसअघि उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।
काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनुभयो । जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाउनुभयो ।
काठमान्डुलाई निरास बनाउन बलिङमा सुदूरपश्चिमका हेमन्त धामी, हर्मित सिंह र स्कट कग्जेजिनले दुई दुई तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक एक विकेट लिनुभयो । अलरान्ड प्रदर्शन गर्नुभएका हर्मित प्लेयर अफ दि म्याच हुनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।
पावरप्ले मै चार विकेट गुमाएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो ।
उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो ।
यस्तै आरिफ शेखले २५ र इसान पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा काठमान्डुका कप्तान करण केसीले चार विकेट लिनुभयो । उहाँले चार ओभरका ३० रन खर्चिएर चार विकेट लिनुभएको हो । मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिनुभयो ।
एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबिच साँझ ४: ०० बजे प्रतिस्पर्धा हुनेछ ।

एनपिएल हेर्नेलाई नि:शुल्क बस सेवा
एनपिएलको डे–नाइट खेल हेरेर फर्कन दर्शकका लागि नि:शुल्क बसको ब्यवस्था गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिविको तल्लो गेट र ल्याब स्कुलको अगाडिबाट बिभिन्न रुटमा नि:शुल्क बसको ब्यवस्था गरेको हो ।
क्रिकेट खेल हेरेर फर्किने महिला, वृद्ध र अशक्तहरुको सेवाका लागि बेलुकी ६ बजेदेखि आठ बजेसम्म बसको ब्यवस्था गरिएको छ । क्यानले बस सेवा सञ्चालन गर्नको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरेको छ ।
बुधबारदेखि सुरु भएको नि:शुल्क बस सेवा फाइनल खेलको दिनसम्म हुनेछ । रुट एकको नि:शुल्क बस त्रिवि गेटबाट सुरु भई स्वयम्भू हुँदै बालाजु पुग्नेछ ।
यस्तै रुट दुईको त्रिवि गेटबाट सुरु भई स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म, रुट तीनको बस त्रिवि गेटबाट सुरु भई बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला हुँदै चाबहिलसम्म र रुट चारको बस त्रिवि गेटबाट सुरु भई बल्खु र सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।