राममणि दाहाल
मकवानपुर, मङ्सिर ३ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक बुधबार रातिबाट अन्त्य गरिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा वर्षे अधिवेशनको रुपमा रहेको बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु सोह्रौँ अधिवेशन बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गरिएको हो ।
बागमती प्रदेश सभाको वर्षे अधिवेशन बुधबार रातिबाट अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
यसअघि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
प्रदेश सभाको अधिवेशन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवलाई रामबाबु पुरीलाई श्रम, रोजगार तथा रोजगार मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
कृषि निर्देशनालय, हेटौँडामा निर्देशकमा नारायणकुमार श्रेष्ठ, कृषि तालिम केन्द्र भण्डाराको प्रमुखमा सुधिर श्रेष्ठलाई र शिक्षा विकास निर्देशनालयको महानिर्देशक गोपाल कँडेललाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री तामाङले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको गैरआवासीय भवन निर्माण गर्न संरचना सुधारका लागि खर्च गर्न अख्तियारी प्रदान गर्ने र प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।