• १० साउन २०८१, बिहिबार

हैजा पुष्टि हुनेको संख्या तीन पुग्यो

उपत्यकाका थप दुई जनामा हैजा पुष्टि

blog

काठमाडौँ, साउन १० गते। काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा थप दुई जनामा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो। यो सँगै हैजा पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ। 

गत मंगलबार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बस्ने १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो। सोही ठाउँबाट आउनुभएका दुई जना झाडापखालाका बिरामीमा हैजा पुष्टि भएको डा. बसौला बताउनुभयो। 

उहाँ भन्नुहुन्छ, “ठैवस्थित एक पुनर्स्थापना केन्द्रबाट आउनुभएका थप दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। एक जना बिरामीको झाडापखाला साथै मिर्गौला सम्बन्धी समस्या भएकाले  पाटन अस्पतालको आइसियुमा रिफर गरियो। अर्को एक जना हैजा पुष्टि भएको रिपोर्ट आउन बाँकी हुँदा अस्पतालबाट भागिसक्नुभयो।”

सुरुको दिन हैजा पुष्टि भएका बिरामीको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्जको तयारी गरेको उहाँले जानकारी दिनुभयो।   

के हो हैजा ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो।  उहाँका अनुसार हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर  झाडापखाला लागि जलवियोजन भएर मृत्यु समेत हुनेगर्छ।  

उहाँ भन्नुहुन्छ, ‘‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरू निस्कन्छन्। ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ। मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ।’’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनले देखाएको छ।

चिकित्सकका अनुसार हैजाका कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षण देखिने गर्दछन्।

हैजा दूषित पानीको माध्यमबाट सर्ने गर्छ। त्यसका अतिरिक्त बासी खानेकुरा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्छ। 

डा. पुनका अनुसार निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हुन्। 

लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन्। झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन्। 

जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन्।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान दिन डा. पुनको सुझाव छ।  

यो पनि पढ्नुहोस

ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।