• १६ वैशाख २०८३, बुधबार

तिलोत्तमामा १८ वर्षमुनिका लागि भेप, हुक्का र सुर्तीजन्य पदार्थमा रोक

blog

तिलोत्तमा नगरपालिका भवन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १६ गते ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले १८ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीलाई भेप, हुक्का तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले यस नियमको कडाइका साथ अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । बालमैत्री नगरपालिका निर्माण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो ।

नगरपालिकाले पछिल्लो समय विभिन्न होटल, रेस्टुरेन्ट, क्याफे तथा सार्वजनिक स्थलहरूमा विद्यालय तथा कलेज उमेर समूहका किशोर–किशोरीले भेप, हुक्का लगायत सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गुनासो बढ्दै गएको जनाएको छ । विशेषगरी क्याफे संस्कृतिको विस्तारसँगै कम उमेरका बालबालिका यस्ता कुलततर्फ आकर्षित हुन थालेपछि नियन्त्रणका लागि कदम चालिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

उहाँका अनुसार बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्यमा नकारात्मक असर पार्ने यस्ता गतिविधिले सामाजिक तथा शैक्षिक वातावरणमा समेत असर पुर्‍याइरहेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै होटल, रेस्टुरेन्ट, क्याफे तथा मनोरञ्जनस्थललाई १८ वर्षमुनिका व्यक्तिलाई भेप, हुक्का वा अन्य सुर्तीजन्य पदार्थ बिक्री नगर्न तथा प्रयोग गर्न नदिन औपचारिक निर्देशन दिएको छ । नियम उल्लङ्घन भए प्रचलित कानुनअनुसार कारबाही गरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, सार्वजनिक स्थल, होटल वा क्याफेमा बालबालिका तथा किशोर–किशोरीले यस्ता पदार्थ सेवन गरिरहेको देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालद्वारा जारी सूचनामा बालबालिकाको स्वास्थ्य सुरक्षा, अनुशासन र सकारात्मक सामाजिक वातावरण निर्माणका लागि सबै अभिभावक, व्यवसायी तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

सूचनामा बालबालिकालाई दुर्व्यसनबाट जोगाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको पनि औंल्याइएको छ ।

नगरपालिकाले आगामी दिनमा विद्यालय, अभिभावक, युवा क्लब तथा सुरक्षा निकायसँग सहकार्य गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । साथै, नगर क्षेत्रमा अनुगमनलाई थप प्रभावकारी बनाइने र बालबालिकासँग सम्बन्धित संवेदनशील विषयमा कुनै पनि लापरवाही सहन नसकिने स्पष्ट पारिएको छ ।

बालमैत्री स्थानीय शासन अवधारणालाई व्यवहारमा उतार्न तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार र सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकाको यो निर्णयलाई बालबालिकालाई कुलतबाट जोगाउने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।