• ८ जेठ २०८१, मङ्गलबार

पर्यटन क्षेत्रमा बढ्यो चहलपहल

blog

मीनराज भण्डारी

काठमाडौँ, वैशाख २० गते । केही समयअघिसम्म सुनसान रहेका होटल, रेस्टुराँ र पार्टी प्यालेस अहिले भरिभराउ देखिन थालेका छन् । विदेशी र आन्तरिक पर्यटकको चहलपहल बढेसँगै स्तरीय होटल र पार्टी प्यालेसमा भीडभाड बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिल महिनामा मात्रै ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

हिमाल आरोहण, पदयात्रामा आउने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि तारे होटलको ‘अकुपेन्सी’ ८० प्रतिशत पुगेको छ । मझौला र साना होटलमा समेत पाहुनाको सङ्ख्या बढ्दै गएको छ ।युरोप तथा अमेरिकाले ‘ट्राभल एडभाइजरी’ हटाए अझ धेरै पर्यटक आकर्षित गर्न सकिने होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।

अहिले गोष्ठी, सेमिनार, बैठक, साधारण सभा र राजनीतिक पार्टीका कार्यक्रमले कोरोना पहिलेकै अवस्थामा जस्तो व्यापार भइरहेको उहाँले बताउनुभयो । “सरकारले गठन गरेको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले सुझाएअनुरूप नीतिगत, प्रक्रियागत संरचनागत विषयमा सुधार ल्याए अझै चहलपहल बढाउन सकिन्छ,” उहाँले भन्नुभयो ।अहिले एउटा विदेशीको समूह नेपाल आउँदा १० देखि १५ कोठा बुक हुन थालेको जनकारी दिँदै उहाँले तारे होटल, रिसोर्ट, होमस्टेलगायत अन्य पर्यटकस्तरीय होटल सम्बद्व व्यवसाय लयमा फर्किसकेका छन् । पर्यटन क्षेत्रको उत्थान गर्ने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले व्यवसायमा थप चहलपहल बढ्ने उहाँको भनाइ छ ।

“आन्तरिक पर्यटन प्रवर्धन र सहुलियतका विषयमा सरकार गम्भीर देखिएकाले होटल क्षेत्रका मजदुर काममा फर्किएका छन् । मजदुरले पाउने सेवा सुविधा पुरानै अवस्थामा दिन थालिएको छ,” हानका प्रथम उपाध्यक्ष शाहले भन्नुभयो ।

व्यवसायीको छाता सङ्गठन रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय ठमेल, नगरकोट, पोखरा, सौराहलगायतका क्षेत्रमा होटल तथा रेस्टुराँको व्यवसाय सन्तोषजनक रहेको बताउनुभयो ।कोरोनापछि घरबाहिर गएर खाना खाने, सामूहिक भोज भतेर गर्ने, जन्मदिन, वैवाहिक वर्षगाँठ, उत्सवलगायतमा खर्च गर्ने चलन बढ्दै गएकाले रेस्टुराँ व्यवसाय पुरानै अवस्थामा फर्किएको व्यवसायी बताउँछन् । 

पछिल्लो समय भारतका शैक्षिक संस्थामा बिदाको समय रहेकाले परिवारसहित नेपाल घुम्न आउने भारतीय पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले रेस्टुराँ भरिभराउ हुन थालेको उहाँको भनाइ छ ।हाल भ्रमण, पदयात्रा, पर्वतारोहण, जलयात्रामा समेत पर्यटकको चहलपहल बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानकी महासचिव सरिता लामाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कोरोनाका कारण धेरै दक्ष पथप्रदर्शक व्यवसायबाट पलायन भएका कारण नयाँ गाइड तथा भरिया (पोर्टर)बाट व्यवसाय सञ्चालन हुन थालेका छन् । अहिले पर्वतारोहणको समय भएकाले सगरमाथा आधार क्षेत्र र अन्नपूर्ण सर्किटमा पर्यटकको चहलपहल बढ्दै गएको छ ।’’पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले विदेशी मुद्रा आर्जनमा सुधार देखिएको उहाँले बताउनुभयो ।