• २८ वैशाख २०८१, शुक्रबार

चन्द्रागिरिमा चुनावी चटारो

blog

काठमाडौँ, वैशाख २० गते ।  काठमाडौँको सबैभन्दा ठूलो चन्द्रागिरी नगरपालिका स्थानीय तह निर्वाचनको अन्तिम चटारोमा छ ।  कुल १५ वटा वडा रहेको यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँंग्रेसले प्रमुखसहित ५ वटा वडामा जित हासिल गरेको थियो । 

उप प्रमुख र ९ वटा वडा एमालेले जितेको थियो । एउटा वडामा नेकपा (माओवादी) का उम्मेदबार विजयी भएका थिए । नेपाली काँग्रेसले यसपटक पाँच दलीय गठबन्धनको समर्थनमा नगरपालिकाको प्रमुखमा शिक्षक पृष्ठभूमिका घनश्याम गिरीलाई उमेद्बार बनाएको छ । उहाँ यसअघि पनि नगरप्रमुख हुनुुहुन्थ्यो । नेकपा एमालेले आर्किटेक्ट इन्जिनियर उत्तमबहादुर राउतलाई प्रमुख र बसन्ती श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाएको छ । निर्वाचनमा मुख्यगरी दुइ दलबीच प्रतिस्पर्धा देखिएको छ । नेपाली काँंग्रेस विगतको बिरासतलाई कायम राख्ने दाउमा छ । एमाले भने यसपटक बहुमत वडासहित प्रमुखको नतिजालाई पनि उल्ट्याउने रणनीतिमा छ । 

स्थानीयका अनुसार दुवै उम्मेदबार उत्तिकै लोकप्रिय छन् । दुवै पक्षले मतदाताबीच रहेको आफ्नो लोकप्रियतालाई चुनावको मितिसम्म कायम राख्न प्रचारप्रसार अभियानलाई तिब्रता दिइरहेको छन् । आफ्नो कार्यकालमा चन्द्रागिरीको विकास निर्माणदेखि जनतालाई नगरपालिका तथा वडास्तरबाट हुने सेवा प्रवाहलाई चुस्त बनाएको तथा स्मार्ट चन्द्रागिरी बनाउने काम अन्तिम चरणमा पु¥याएकोले यसपटक पनि प्रमुखमा आफ्नो जित पक्का भएको गिरीको दाबी छ । 

विगतको चुनावमा १५ वटा वडामध्ये ५ वटामा मात्रै आफ्नो पार्टीका अध्यक्षले जित्दासमेत आफूले प्रमुखमा जितेको दृष्टान्त दिँदै गिरीले भन्नुभयो, “यसपटक पनि बिगतमा मैले सम्पन्न गरेको कामको मूल्याङ्कन गरेर र मेरो कार्यकालमा शुरु भएको अपूरो योजनालाई पूरा गर्नका लागि पनि मतदाताले जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु ।”

यसपटक नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलको गठबन्धन भएकोले पनि आफूहरुले ठूलो मतान्तरले जित हाँसिल गर्ने गिरीको विश्वास छ । गठबन्धनले उप प्रमुखमा  भने राष्ट्रिय जनमोर्चाका रोशन दानीलाई उमेद्बार बनाएको छ । 

एमालेको तर्फबाट नगर प्रमुखको उमेद्बार बन्नुभएका राउतले यसपटक आफू सहजै विजयी हुने दाबी गर्नुभयो । २०७४ सालको स्थानीय तहमा आफ्नो पार्टीको उम्मेदबार थोरै मतले मात्रै पराजित भएको बताउँदै राउतले भन्नुभयो, “नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा जनताले  अनुुभूती गर्न पाउने गरी काम गछौँ ।”

आफ्नो पार्टीले नगरप्रमुख जितेमा नगरपालिकाभित्र निःशुल्क फोहोर उठाउने, अनियनित्र रुपमा भइरहेको पानी बोरिङलाई नियन्त्रण गरेर पिउने पानीको स्थायी स्रोत खोज्ने, विद्यार्थीलाई निःशुल्क पढाउने लगायतका प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

चन्द्रागिरी काठमाडौँभित्रको सबभन्दा ठूूलो नगरपालिका हो । सरकारले २०७१ मङ्सिर १६ गते मुलुकभर ६१ वटा नयाँ नगरपालिका थप्ने क्रममा चन्द्रागिरीलाई पनि नगरपालिका बनाएको थियो । काठमाडौंको दक्षिण–पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिलाई समेटेर यस नगरपालिका बनाएको हो । 

नगरपालिकालाई शुरुमा २५ वटा वडा थियो । सरकारले २०७३ फागुनमा स्थानीय तहको पुनःसंरचना गर्दा जम्मा १५ वडा मात्रै कायम गरेको थियो । यस नगरपालिकामा ४७ हजार २ सय ६४ मतदाता छन् । सबैभन्दा बढी मतदाता वडा नम्बर १२ मा ४ हजार ४५१ छन् । सबैभन्दा थोरै मतदाता वडा नम्बर ११ मा १ हजार ५३९ छन् । 


Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।