• ५ साउन २०८१, शनिबार

घट्दै ओल खेती

blog

जयकृष्ण यादव
इनरुवा, साउन ५ गते । 
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।

बजारमा उन्नत जातको बीउ–बिजनको समस्यालगायत विविध कारण ओलको व्यावसायिक खेती घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएको भए पनि ओल खेती भने घट्दै गएको किसान डुमर लाल मेहताले बताउनुभयो ।

सानो क्षेत्रफलमा ओलको खेती गर्ने किसानलाई यसको माग धान्न हम्मे–हम्मे परेको बताउनुहुँदै यसको खेती व्यावसायिक हुन नसकेकाले घट्दै गएको मेहताको भनाइको रहेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकाका किसान विद्यानन्द साहले गाउँपालिकाको कृषि शाखाले बिउ उपलब्ध गराउने गरेकाले केही किसानले ओलको खेती गर्ने गरेको भए पनि व्यावसायिक खेतीका लागि त्यो पर्याप्त नभएको गुनासो गर्नुभयो ।

अर्का, किसान डिल्लीप्रसाद मेहताले बिउका लागि सर्लाही पुगेर ओल ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म भएको र कन्दमूलका रूपमा चिनिने ओल असार, साउन र भदौ महिनामा खानयोग्य हुने भएकाले केही किसानले थोरै क्षेत्रफलमा ओल खेती गर्दै आएको मेहतको भनाइ छ ।

हरिनगर ३ गौतमपुरका किसान रामेश्वर मेहता र शोभालाल मण्डलले आफ्नो पाँचकठ्ठा खेतमा ओल खेती गर्नुभएको छ । तर बिउको पर्याप्त नहुँदा र बजारको अनिश्चितताले गर्दा ओल खेती विस्तार गर्न नसकिएको गुनासो उहाँहरूको छ । उहाँहरूले ओल खेतीमा सीमित क्षेत्रफलमा धेरै उत्पादन गर्न सकिने भए पनि बिउँको अभावले चाहेर पनि बढीमा खेती गर्न नपाएको बताउनुभयो ।

ओलको व्यावसायिक खेती गर्दा एक कठ्ठामा ७०० बोटसम्म लगाउन सकिन्छ । कम्तीमा ५०० ग्रामको बीउ रोप्दा स्याहार पर्याप्त पुगेमा १२ किलोसम्मको ओल उत्पादन हुन्छ  । बलौटे माटोमा ओल उत्पादन राम्रो हुन्छ भने कम्पोस्ट मलले ओलको गानो विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन बनेको ओल खेतीका जानकार मनोजकुमार सिंहको दाबी छ ।

एकातिर किसानको रुचिमा नपरेको र अर्को तर्फ ओलको लक्षित बजार भने तराईमै सीमित भएकाले ओलमा किसानको आकर्षण कम रहेको अनुमान कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार अहिले पहाडी जिल्लातिर पनि ओल रोप्ने चलन बढेको छ । तर ठुलो क्षेत्रमा व्यावसायिक रूपमा भने ओल खेती घट्दै गएको छ । कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार कोशी प्रदेशको तीन सय हेक्टर क्षेत्रफलमा ओल खेती गरिएको छ ।