जानु पाण्डे
कपिलवस्तु, असार ९ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका –३, जगदीशपुरमा घरको छानो खस्दा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा ६० वर्षीय दुर्गाप्रसाद काफ्ले रहेका छन् ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आइतबार राति परेको अविरल वर्षाले काफ्ले बस्दैआएका कच्ची घरको धुरी र खाँबो कमजोर भई भत्किँदा छानो खसेको हो ।
छोरा वैदेशिक रोजगारीमा रहेका कारण काफ्ले घरमा एक्लै बस्दै आउनुभएको थियो । घरभित्र सुतिरहेको बेला अचानक छानो खस्दा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काफ्लेको शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ ।