कपिल ज्ञवाली
सिद्धार्थनगर, असार ९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक किसानलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिनलगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो ।
व्यावसायिक कृषि गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिऔजार वितरण गरिएको हो । कृषकलाई आबेदनको आधारमा कृषिऔजार वितरण गरिएको नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।
नगरपालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठलाई सफाइ गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको नगरप्रमुख खाणको भनाइ छ । दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दैआएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो ।
उहाँले आगामी बजेटमा समेत कृषक तथा पशुपालकका लागि उपयोगी कार्यक्रमहरु लिएर आउने समेत बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाई बिशेष जोड दिएको बताउनुभयो ।
कार्यक्रममा वडा ६ का अध्यक्ष गणेश पाठक, वडा ५ का सदस्य हिरा गिरी डायमण्ड, पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु डा. ईन्द्रकला खत्रीलगायत सबै वडाका पशुपालक किसानहरुको सहभागिता रहेको थियो । कृषिऔजार पाएपछि किसानहरु खुसी भएका छन् ।