• ४ साउन २०८१, शुक्रबार

‘नेपालसँगको सहयात्रा सफल र फलदायी’

blog

काठमाडौँमा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड)द्वारा आयोजित पत्रकारसँगको समीक्षात्मक अन्तरक्रियामा उपस्थितहरु ।

काठमाडौँ, साउन ४ गते । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएड)ले नेपाल सरकारको प्राथमिकताका आधारमा नेपाललाई प्रत्यक्ष सहयोग पुर्‍याउँदै आएको प्रष्ट पारेको छ । नेपालको विदेशी लगानीको भरपरर्दो दाताका रुपमा विगत ६६ वर्षदेखि नेपालसँगको साझेदारी युएसएडको रही आएको छ ।

द्विपक्षीय विकास साझेदारीको पाँच उच्च सहकार्य गर्ने देशमध्ये अमेरिका पहिलो  स्थानमा रहेको छ । त्यसले पनि नियोगको भूमिका नेपालमा बलियो बनाएको छ । नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको ७७ वर्ष पुगेको अवसरमा नियोगले नेपालको सङ्घीय संरचना अनुसार आफ्ना कार्यक्रमलाई थप फलदायी बनाउन लागि परेको नेपालस्थित अमेरिकी दूतवासकी प्रवक्ता जेहरा नक्वीले बताउनुभएको छ । अमेरिकाका पूर्व राष्ट्रपति जोन आफ केनेडीले यस निकायको स्थापना गर्नुभएको थियो ।

काठमाडौँमा नियोगद्वारा आयोजित पत्रकारसँगको समीक्षात्मक अन्तरक्रियामा बोल्नुहुँदै युएसएड नेपालका कार्यबाहक मिसन निर्देशक बेथ होगनले नेपालसँगको लामो सहयात्रा निकै सफल र फलदायी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुुभयो, “यहाँ हामी नेपाल सरकार र जनतालाई सहयोग गर्नका लागि छौँ र अहिले हामी स्थानीय तहको समस्याको स्थानीय तहमै समाधान गर्न पहल गरिरहेका छौँ ।”

नेपालको स्थानीय तहलाई बलियो पार्न र समावेशिताको नेपालको लक्ष्यलाई पूरा गर्न र समावेशिताको अवधारणालाई परिपूर्ति गर्न सहयोग प्रदान गरिरहेको बताउनुभयो । अमेरिकी सहयोग नियोगले नेपाल सरकारसँग पछिल्लो समय पाँच वर्षको सहकार्यका लागि सन् २०२२ देखि २०२७ सम्मका लागि ६५९ मिलियन डलर बराबरको अनुदान सहयोग सम्झौता गरेको छ । जस अनुसार हरेक वर्ष १२५ मिलियन अमेरिकी डलर अर्थात् साढे १६ अर्ब बराबरको सहयोग प्रदान गरिने वित्तीय विश्लेषक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

नियोगको अनुदानमध्ये वार्षिक बजेटको २५ प्रतिशत अनुदान सहयोग सरकार–सरकार(जिटुजि) सहयोगअन्तर्गत जाने गरेको छ । जुन नेपाल सरकारले बजेटमा प्राथमिकतामा तोकेका विषयहरुमा खर्च गरिन्छ ।

बाँकी रहेको ६० प्रतिशत बजेट विभिन्न सहयोगका क्षेत्रमा खर्च हुन्छ । पछिल्लो समय त्यसको ४० प्रतिशत हिस्सा स्थानीय कार्यक्रमका लागि तय गरिएको जानकारी कार्यबाहक मिसन निर्देशक बेथ होगनले थप प्रष्ट्याउनुभयो ।

नेपालमा स्वास्थ्य, शिक्षा, प्रजातन्त्र, प्रजातन्त्र, अधिकार र सुशासन, आर्थिक वृद्धि, वातावरण र उत्थानशिलता लगायतका क्षेत्रमा नियोगले देशव्यापी रुपमा काम गर्दै आएको छ ।

समीक्षात्मक अन्तरक्रियामा बिहीबार बोल्नुहुँदै नियोगको कार्यक्रम अधिकृत मञ्जु तुलाधरले नेपालको लैङ्गिक समावेशीकरणका कार्यक्रमलाई बढी जोड दिइएको जानकारी गराउनुभयो । जस अनुसार स्थानीयकरणका कार्यक्रममा अपनत्व विकास, स्थानीय नेतृत्व विकास र स्रोत साधनको दिगो प्रयोग र प्रतिफलमा लक्षित रहेको छ । उहाँले भन्नुभयो, ‘‘समुदायको कुरा जति सुन्छौं त्यति नै सिक्छौं र सफलताका लागि अर्को कदम चाल्ने गरेका छौँ ।’’


प्रजातन्त्र, अधिकार र सुशासन प्रतिनिधि विश्वास रानाले निर्वाचन प्रणाली र मतदाता शिक्षाको सशक्तिकरणका लागि १४.२ मिलियन अमेरिकी डलर बराबरको सहयोग पुर्‍याएको जानकारी गराउनुभयो । जसको परिणामस्वरुप २०७४ सालको निर्वाचनमा समानुपातिक १४.७४ प्रतिशत मत बदर देखिएकोमा २०७९ को निर्वाचनमा सो दर घटेर ५.० प्रतिशतमा पुगेको औँल्याउनुभयो । त्यस्तै स्थानीय शासन सुदृढीकरण र मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउदै आएको छ ।

नियोगको आर्थिक वृद्धि प्रतिनिधि सुमन पियाले नेपालको कृषि क्षेत्र लक्षित कार्यक्रमलाई जोड दिँदै व्यवसायिकरण, यान्त्रिकरण र बजारीकरणलाई सहयोग दिने गरेको बताउनुभयो । उहाँका अनुसार यस विषयमा सरकारको आवश्यकता र प्राथमिकताका आधारमा पनि अनुदान जाने गरेको छ । सन् २०२४ का लागि २७ मिलयिन अमेरिकी डलर बराबरको बजेट यस शीर्षकमा छ ।

नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउन नियोगले सामुदायिक विद्यालयलाई बलियो बनाउन पहल गरिरहेको जनाएको छ ।
बरिष्ठ स्वास्थ्य सल्लाहकार जगन्नाथ शर्माले नियोगले स्थापनाकालदेखि नै नेपालमा मलेरिया, औलो तथा अहिले पोलियो रोग उन्मूलनका लागि सहकार्य गर्दै आएको छ । त्यस्तै प्रजनन स्वास्थ्य सुधार, राष्ट्रिय भिटामिन कार्यक्रम, कोभिड महामारीमा खोप उपलब्धता लगायतका साथै स्वास्थ्य प्रणालीमा सुधार गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी उहाँले दिनुभयो ।

वातावरण र उत्थानशीलता प्रतिनिधि शंकर कार्कीले नेपालको प्राकृतिक स्रोत साधनको व्यवस्थापन, संरक्षण र दिगो उपयोगलाई सघाउने खालका कार्यक्रम प्राथमिकतामा रहेको बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका असरको न्यूनीकरण र प्राकृतिक विपत् न्यूनीकरणका लागि पूर्व तयारी र पूर्व सूचना प्रणालीलाई बलियो बनाउन थप सहकार्य सुरु भएको जानकारी उहाँले दिनुभयो ।

नियोगले नेपालको उर्जा क्षेत्रको विकासका लागि १२०० मेगावाट विद्युत् उत्पादनका लागि २.४ बिलियन अमेरिकी डलर बराबरको सहयोग गरेको जानकारी दिएको छ ।