• २० असोज २०८१, आइतबार

दुई दिन बिदा : पर्यटन व्यवसायी खुसी

blog

रमेश पौडेल 

पोखरा, वैशाख १९ गते । सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन् ।  

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ ।होटल सङ्घले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकामा दुईदिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौँ’ विज्ञप्तिमा भनिएको छ । 

कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुईदिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले अरू देशमा पनि यस्तो अभ्यास रहेकामा नेपालले ढिलो गरी यसलाई पछ्याए पनि यो सुखद समाचार रहेको बताउनुभयो । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उहाँले बताउनुभयो । 

पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । बिस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् ।पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई चौबीसै घण्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीले लगानी बढाएका छन् भने पर्यटक लक्षित साहसिक खेलकुदका गतिविधि पनि थपिएका छन् ।