गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् ।
बजारमा अहिले एक दर्जन केराको मूल्य बढेर तीन सय रुपियाँदेखि चार सय रुपियाँ पुगेको छ । नेपाल केरा उत्पादक महासङ्घका तदर्थ समितिले मङ्गलबार पत्रकार सम्मेलन गरेर व्यापारीले आयात रोकिएको बहानामा अभाव देखाएर केरामा मूल्यवृद्धि गराएको जनाएको छ ।
महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले किसानको मूल्य धेरै नबढे पनि केही व्यवसायीले केरामा कालोबजारी देखाएर दोब्बर मूल्यवृद्धि गरेको जानकारी दिनुभयो । किसानले पाउने मूूल्य प्रतिदर्जन काँचो केरा ५० देखि ७० रुपियाँ रहेको उहाँको भनाइ छ । केरामा भइरहेको कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार नेपालमा वार्षिक नौ लाख मेट्रिक टन केरा आवश्यक पर्ने गर्छ । हाल सात लाख मेट्रिक टन उत्पादन भइरहेकाले दुई लाख मेट्रिक टन अझै अपुग रहेको छ । वैशाख, जेठ र असारमा बजारमा केराको खपत बढी हुने गर्छ । अन्य सिजनमा भने केराको खपत कम हुने गर्छ ।