• २० असोज २०८१, आइतबार

भुसा काट्ने मेसिनको प्रयोग बढ्दै

blog

नारद कोहार

तौलिहवा, वैशाख १९ गते  । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेसिन)को प्रयोग बढ्दै गएको छ । विगत वर्षमा कम्बाइन मेसिनले गहुँ र धान काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिने गरिन्थ्यो । त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो तर स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेका गहुँ  र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । स्ट्रारिपरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनुभयो । 

जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको उहाँले बताउनुभयो । विगत वर्षमा कम्बाइनले गहुँ  र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ । “खेतमा आगो लगाउँदा मित्र जीव नाश हुने गरेको थियो । माटोको उर्वरा शक्तिसमेत घटेको थियो,” प्रमुख चौबेले भन्नुभयो, “स्ट्रारिपरको प्रयोग भएपछि कृषकलाई धेरै फाइदा पुगेको छ ।” 

कपिलवस्तु नगरपालिका–६, थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले पाँच लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । 

उहाँले अहिले स्ट्रारिपर मेसिनलाई खेतमा भुस सङ्कलन गर्न भ्याइनभ्याइ रहेको बताउनुभयो । भुस काटेबापत आफूहरूले खेतधनीलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँसमेत दिने गरेको उहाँले बताउनुभयो । 

एक ट्राली भुसको तीन हजारदेखि साढे तीन हजारमा बिक्री गर्ने गरेको कृषक चौधरीले बताउनु भयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाइनले काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँ का दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ ।