गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ११ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले ती घटनामा संलग्नका विरुद्ध जाहेरी नै नलिएको सदस्यबाट गुनासो आइरहेको भन्दै यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने बताएको छ ।
आइतबार महासङ्घले आफ्ना पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिबिच यही विषयमा छलफल गरेको थियो । छलफलपछि महासङ्घले विज्ञप्ति जारी गर्दै यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमा नै नकारात्मक असर पु¥याएको जनाएको छ ।
“घटनाका दोषीविरुद्ध जाहेरी नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीबाट जानकारी प्राप्त भइरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । यसले रोजगारी सिर्जना, राजस्व सङ्कलन, लगानी प्रवर्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै महासङ्घले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा महासङ्घको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दै महासङ्घले गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको जनाएको छ ।
छलफलमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताउनुभयो ।
यस्तै उहाँले अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
छलफलमा देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्बाध रूपमा
काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराइएको थियो ।