• ११ कात्तिक २०८२, मङ्गलबार

चाडपर्वमा ५९ सवारी दुर्घटना : एकको मृत्यु, ५० घाइते

blog

जिल्ला प्रहरी कार्यालय गुल्मी

रमेश विश्वकर्मा 
गुल्मी, कात्तिक ११ गते ।
गुल्मीमा चाडपर्वमा ५९ सवारी साधन दुर्घटनामा परेका छन् । हिन्दु नेपालीहरुको महान् पर्वका रुपमा रहेका दसैँ, तिहारको बेला यस जिल्लामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लामा घटस्थापनादेखि कात्तिक ९ गतेसम्म सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।

जिल्लाभर भएका २६ वटा मोटरसाइकल दुर्घटनामा २२ जना घाइते भएका छन् । त्यस्तै, बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक एक, बस दुई, टिप्पर एक, कार तीन, एम्बुलेन्स एक, बोलेरो ६, ट्याक्टर तीन, मोटरसाइकल २६, ईभी ६, स्कुटर दुई, अटो दुई र जिप ६ वटा दुर्घटनामा परेका छन् ।

यीमध्ये ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति, सवारी चालकको लापरवाही, खराब सडक अवस्था रहेका छन् । प्रहरीले चालकहरूलाई सुरक्षित गतिमा सवारी चलाउन, मदिरा सेवनपछि सवारी नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।