गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ११ गते । दसैँतिहारलगत्तै फलफूलको कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासङ्घका अनुसार तिहारअघिको तुलनामा तिहारपछि फलफूलको व्यापार घटेको हो । महासङ्घ काठमाडौँका अध्यक्ष अमर बानियाँले तिहारअघिको तुलनामा तिहारपछि फलफूलको कारोबार झन्डै आधाले घटेको जानकारी दिनुभयो ।
तिहारलगत्तै छठ भए पनि विगतका वर्ष जस्तो उपत्यकाको फलफूल बजारमा कारोबार नभएको उहाँले अनुभव सुनाउनुभयो । अध्यक्ष बानियाँका अनुसार तिहारअघिसम्म फलफूलको उत्साहजनक कारोबार भएर अहिले घट्नुमा उपभोक्तासँग तिहारकै बेलाका किनेको ‘स्टक’ रहनु हो । उहाँका अनुसार अघिल्ला वर्षमा छठका लागि भने तिहारलगत्तै नै फलफूलको कारोबार बढ्थ्यो तर यस वर्ष भने केराबाहेक अन्यको फलफूलको खासै कारोबार भएन । विगतमा त छठका बेलामा काठमाडौँबाट मुस्ताङको स्याउ, पहाडका किवी, ड्र्यागन फुट्सलगायतका फलफूल तराईका जिल्ला दुई÷चार ट्रक पठाएको अनुभव सुनाउँदै उहाँले यस पटक तराईबाट कुनै फलफूलको माग नआएको बताउनुभयो ।
नेपाल केरा उत्पादन महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले यस पटकको छठमा केराको कारोबार घटेको जानकारी गराउनुभयो । कारोबार घट्नुमा उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको अनुमान लगाउन सकिने उहाँ बताउनुहुन्छ ।
यस पटकको मुस्ताङको फुजी स्याउबाहेक अन्यको अन्य फलफूलको भाउ सामान्य रहेको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
सङ्घका अनुसार सोमबार मुस्ताङको स्याउ (फुजी) प्रतिकेजी ३७५ रुपियाँ, स्याउ (झोले) प्रतिकेजी २५० रुपियाँ, केरा प्रतिदर्जन १२० देखि १४० रुपियाँसम्म मौसम प्रतिकेजी १९० रुपियाँ, सुन्तला प्रतिकेजी १२० रुपियाँ र मेवा (नेपाली) प्रतिकेजी ६५ रुपियाँ, मेवा (भारतीय) प्रतिकेजी ९० रुपियाँमा कारोबार भएको छ । काँचो नरिवल प्रतिगोटा एक सय रुपियाँमा झरेको छ । केरा व्यवसायीले नेपालमा उत्पादित केराले दसैँतिहार र छठ धान्ने भन्दै आयात नगर्न गरेको अपिल २५ प्रतिशत मात्रै सफल भएको बताएका छन् । महासङ्घका अध्यक्ष पन्तले दसैँदेखि छठसम्मलाई पुग्ने गरी नेपालमा केराको पर्याप्त उत्पादन भए आयात गर्ने व्यापारीको अटेरीपनका पूर्ण रूपमा आयात रोक्न असफल भएको स्वीकार गर्नुभयो ।
महासङ्घका अनुसार नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब बराबरको केरा खपत भएकोमा दुई अर्बको मात्रै आयात भएको र १३ अर्ब बराबरको नेपालमै उत्पादन भएको थियो । यो कारोबारको तथ्याङ्कले पनि व्यवसायीले नेपालको उत्पादनलाई प्राथमिकता दिएको पुष्टि हुन्छ ।