सिराज खान
नेपालगन्ज, कात्तिक ११ गते । तिहार र दिपावलीमा यस वर्ष नेपालगन्जमा माटोको दियो र अन्य भाडाको बिक्री विगतका वर्षमा भन्दा बढी भएको माटोको भाँडा बनाउने कुम्हालहरुले जनाएका छन् ।
माटोको दियो र अन्य भाँडाको बिक्री बढेकाले यस पटक तिहार र दीपावली अतिनै राम्रो भएको नेपालगन्ज ३ का कुम्हाल रमेश कुम्हालले बताउनुभयो । उहाँले यस पटक दियोको माग अत्यधिक रहेकाले पनि बिक्री धेरै भएको बताउनुभयो ।
उहाँले आधुनिकता र नयाँ नयाँ भाडाको चलनले माटोको भाडाको बिक्री घट्दै गएको बेला यस पटक निकै राम्रो बिक्री भएपछि पेशालाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।
सोही प्रकारले नेपालगन्ज १३ का दिनेश कुम्हालले पनि यस वर्ष माटोका दियो, भुर्कि र पालाको माग अत्यधिक रहेको जनाउँदै बिक्री विगतका वर्षहरुमा भन्दा राम्रो भएको बताउनुभयो ।
उहाँले धेरैले त घरमै आएर खरिद गरेको जनाउँदै त्रिभुवन चोकमा तीन दिनसम्म निकै राम्रो बिक्री भएको बताउनुभयो । गत तीन महिनादेखि बनाएका अधिकांश माटोका भाँडाहरु यो तिहारमा बिक्री भएको दिनेशको भनाइ छ ।
तिहार र दीपावलीका लागि त्रिभुवन चोकमा फुटपाथमा माटोका भाँडाहरु राख्नुभएका नेपालगन्ज ७ का जमिला बानुले यस पटक सोचे भन्दा बढी बिक्री भएको जनाउँदै दियो, पाला र भुर्किका लागि अन्तिमसम्म मानिसहरु आएको बताउनुभयो ।
तिहार र छठ जस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढी हुने गरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु दियो र भुर्कि बनाउन दुई महिना पहिलेदेखि नै निकै व्यस्त थिए । तिहारको बेला दियो सबैभन्दा बढी बिक्री हुने गरेकाले अधिकांशले दियो नै बढी बनाएका थिए ।
तिहार, दीपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक हुने गरेको छ ।
नेपालगन्जको सदरलाइन, त्रिवेणी मोड र त्रिभुवन चोकमा यस पटक माटोका भाँडाका धेरै पसल राखिएका थिए । घरबाट समेत कुम्हार समुदायले दियो र भुर्किलगायत माटोका भाँडा ठुलो सङ्ख्यामा बिक्री गरेका थिए ।