• २० असोज २०८१, आइतबार

शिक्षण छाडेर पशुपालन

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १९ गते  । रुपन्देहीको तिलोत्तमा गौतमप्रसाद चौधरी (थारू) कुनै समय शिक्षक हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनका महत्त्वपूर्ण १४ वर्ष तिलोत्तमा नगरपालिका–१३ मा रहेको नर्मदेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कखरा सिकाएरै बिताउनुभयो । अहिले उनै शिक्षकको परिचय बदलिएको छ । उहाँले सो पेसा छाडेर कृषिकर्ममा रमाउन थालेपछि शिक्षकको परिचय किसानमा बदलिएको छ । 

विद्यालय मर्ज भएपछि उहाँ नर्मदेश्वरबाट सेमरी माविमा पढाउनसमेत पुगेको उहाँको अनुभव छ । उहाँले विद्यार्थीलाई मात्रै होइन, अरूलाई समेत पाठशाला निर्माण गर्ने उद्देश्यले पशुपालन क्षेत्रमा होमिएको बताउनुहुन्छ ।

शिक्षक पेसाबाट राजीनामा दिएर ‘गोल्डेन ह्यान्डसेक’ लिनुभएका उहाँले सोही पैसालाई पशु फार्ममा लगाउनुभयो । पुर्खौंदेखिको आफ्नो जग्गामा उहाँले आधुनिक प्रकृतिको पशुपालन फार्म स्थापना गर्नुभयो । अहिले उहाँले थारू भैँसी फार्म चलाउनुभएको छ । 

साधारण किसान भएर काम गर्न मन लाग्यो, निकट भविष्यमा एउटा नमुना रिसर्च सेन्टरसमेत बनाउने योजना उहाँको छ । २०७३ सालमा उहाँले स्थापना गरेको फार्म अहिले आधुनिकीकरण गर्दै लैजानुभएको छ । फार्म दुई बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिएको छ । दुई कट्ठा क्षेत्रफलमा फार्म मात्रै स्थापना गरेका उहाँले हालसम्म एक करोड बढी लगानी गरिसक्नुभएको छ ।

अहिले दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुने उहाँको फार्मबाट उत्पादित दूध स्थानीय डेरी उद्योगसहित बुटवलसम्म जाने गर्दछ । आधुनिक मुर्रा भैँसी पाल्नुभएका उहाँले फार्मलाई अझ विस्तार गरी कम्पोस्ट मलको पिट बनाउने योजना बनाएको सुनाउनुभयो । यस्तै युरिन पिटसमेत बनाउने योजना उहाँको छ । सामाजिक क्षेत्रमा नाम चिनाउने काम भएको उहाँको भनाइ छ । पहिला केही सीमित व्यक्ति, विद्यालयमा मात्रै चिन्ने गरेकामा अब देशले नै चिन्ने गरेको उहाँले बताउनुभयो ।