• ३ साउन २०८१, बिहिबार

चलचित्रमा रङ्गकर्मीकै दबदबा

blog

काठमाडौँ, असार २९ गते । नेपाली चलचित्रको आँखामा ‘नायक’ भन्नेबित्तिकै लामो जुल्फी कपाल, अग्लो, सलक्क परेको अनुहार र गठिला पाखुरा भएको दृश्य आउँथ्यो । सिपी लोहनी, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, सरोज खनाल, धीरेन शाक्यदेखि रमेश उप्रेती, निखिल उप्रेती, विराज भट्टसम्मले नायकको उही सूत्र पछ्याएका पाइन्छ । यीमध्ये कोही राजनीति, कोही सरकारी नियुक्ति त कोही साइबाबा भक्त बनेर बाँकी समय बिताइरहेका पाइन्छ । केही चरित्र अभिनेताका रूपमा चित्त बुझाइरहेका छन् । केही आफैँ चलचित्र निर्माणमा लागेका छन् । केही आफ्नो परिवारलाई चलचित्र क्षेत्रमा जोड्ने कसरतमा छन् ।

नेपाली चलचित्रमा यतिबेला ‘नायक’ को चित्र बदलिएको छ । दुई दशकअघिसम्म चलचित्रमा नृत्यमा पारङ्गत दिलीप रायमाझी, उत्तम प्रधान जस्ता नायक पनि टिकेकै थिए । यतिबेला भने रङ्गमञ्चका कलाकारले चलचित्रको नेतृत्वदायी भूमिकामा कब्जा जमाइरहेका छन् । दर्शकले समेत ज्यान नभई अभिनयलाई महŒव दिन थालेका छन् । त्यही कारणले निर्माता निर्देशकसमेत अहिले अभिनयमा पारङ्गत अनुहारको खोजी गर्दै रङ्गमञ्च धाउन थालेका छन् । पछिल्लो समय दयाहाङ राई, विपिन कार्की, नाजिर हुसेन, पशुपति राई, सिर्जना सुब्बा, दिया मास्के, अशान्त शर्मा, सौगात मल्ल, खगेन्द्र लामिछाने, कर्मा शाक्य, प्रवीण खतिवडा, मेनका प्रधान, बुद्धि तामाङ, विजय बराल चलचित्रका रोजाइमा छन् । अनमोल केसी र पल शाह भने नेपाली चलचित्रको मोडलका रूपमा अझै स्थापित छन् । त्यसो त रङ्गमञ्चबाटै उदाएका चरित्र अभिनेता भोला सापकोटाले बलिउडको चलचित्रमा समेत अभिनय गर्न भ्याए । उनले बलिउड चलचित्र ‘बर्फी’ मा अभिनेता रणवीर कपुरसँग अभिनय गर्ने मौका पाएका थिए । नायक र चरित्र अभिनयमा रङ्गमञ्चका कलाकार चलचित्रका लागि धेरै खोजिन्छन् । नायिकातर्फ भने निर्माता तथा निर्देशकले अझै नयाँ अनुहार पाउन सकेका छैनन् । चरित्र अभिनेतामा जम्न थालेका सरोज खनाल, चरित्र अभिनेतामा तारिफ बटुलेका प्रकाश घिमिरे, माओत्से गुरुङ पनि रङ्गमञ्चबाटै चलचित्रमा फड्को मारेका कलाकार हुन् । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट’ मा ठुलो जमातमा रङ्गमञ्चका कलाकारलाई अभिनय गराएका थिए । तीमध्ये अधिकांश अहिले नेपाली रजतपटमा स्थापित भइसके । दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, सिर्जना सुब्बा, प्रवीण खतिवडा ‘लुट’ बाटै चलचित्रमा नाम कमाउने कलाकार हुन् ।

निर्देशक ज्ञानेन्द्र देउजा पुराना कलाकारलाई चलचित्रमा अभिनय गराउनुको कुनै औचित्य नरहने बताउनुहुन्छ । उहाँका अनुसार कथावस्तु बुझेर काम गर्ने क्षमता हुने भएकाले रङ्गमञ्चका कलाकार अहिले चलचित्रका लागि पहिलो रोजाइमा पर्ने गरेका हुन् । उहाँका अनुसार पहिलाको जस्तो चलचित्र पनि अहिले बन्दैनन् । अहिलेका कलाकारलाई पुराना कलाकारसँग जोडी बाँध्न गाह्रो हुन्छ । अब अभिनयले मात्र पुग्दैन, चलचित्रमा धेरै कुराको ज्ञान हुन जरुरी छ । निर्देशक नवल नेपालले चलचित्रको कथा र कलाकार समय र कालखण्डले तोक्ने बताउनुभयो । उहाँका अनुसार कुन कलाकारले चलचित्रको कथालाई कसरी वाचन गर्छन् भन्ने कुरा हो । समयचव्रmसँगै त्यसको स्वाद पनि फरक हुँदै जान्छ । बजारले मागेका कलाकार मात्र चलचित्रमा अटाउँछन् । यसलाई ध्यानमा राखेरै रङ्गमञ्चका कलाकारलाई रोज्न थालिएको निर्देशक नवल बताउनुहुन्छ ।