• १२ साउन २०८१, शनिबार

यार्तुङ मेलामा घोडा कुदाएर माया साट्दै

blog

यदुप्रसाद भट्ट 

मनाङ, असार २७ गते । मनाङमा मनाइने यार्तुङ मेलालाई घोडेजात्रा पनि भनिन्छ । मङ्गलबारबाट सुरु भएको यार्तुङमा घोडा कुदाएर मनोरञ्जन लिइन्छ । मनाङमा यार्तुङको विशेष महŒव र रौनक छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, घ्यारु, ङावल, हुम्डे, भ्राका, पिसाङलगायतका स्थानमा यार्तुङ पर्व निकै रमाइलोसँग मनाइन्छ ।

मनाङीको मुख्य पर्वमध्येको यार्तुङमा परम्परागत वेशभूषामा सजिएका युवा जम्मा भएर परम्परागत बाजागाजा र मौलिक गीत गाउँदै गाउँ घुम्ने चलन छ । गाउँका पुरुष युवाले धुलो उडाउँदै बेतोडसँग घोडा कुदाएको हेर्नेको घुइँचो हुन्छ । घोडा कुदाएर फर्केका युवालाई महिलाले खादा लगाइदिएर सगुनले न्यानो स्वागत गर्छन् । सगुन खाई नाचगान गरी रमाइलो गर्ने मनाङी चलन कहिलेदेखि चल्यो भन्न सकिन्न तथापि लामो समयदेखि यस परम्पराले निरन्तरता पाउँदै आएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले भन्नुभयो, “किन मनाइन्छ भन्ने त थाहा छैन तर यो परम्परादेखि मनाइँदै आएको चलन हो । परम्परा मर्न नदिन हामीले पनि मनाउँदै आएका छौँ ।”

मनाङ ङिस्याङका पर्यटन व्यवसायी तथा समाजसेवी विनोद गुरुङका अनुसार यार्तुङ मनाङीको धार्मिक, सामाजिक र सांस्कृतिक धरोहर हो । वर्षायाम सकिन लाग्दा मनाइने भएकाले यस पर्वमा खेतीपाती राम्रो होस् र रोगव्याधि नलागोस् भन्ने कामनाका साथ यो पर्व मनाइन्छ । मनाङका विभिन्न भागमा छुट्टाछुट्टै रूपमा यार्तुङ मनाइने गरिन्छ । पछिल्लो समय तल्लो मनाङमा यार्तुङ हराउन थाले पनि माथिल्लो मनाङमा यो पर्व जीवितै छ । 

यातायात र सुखदुःखको साथी हो, घोडा । अझै पनि मनाङमा घोडाको प्रयोगमा कमी आएको छैन । मनाङीले घोडालाई निकै प्रेम गर्छन् । यार्तुङ पर्व त्यही प्रेमको प्रतीक पनि हो । यार्तुङ मेलामा तारो हान्ने खेल पनि खेलाइन्छ । यसलाई ‘ग्रान्ड यार्तुङ–२०८१’ नाम दिइएको छ । तारो हान्ने खेलका लागि सात समूहले भाग लिएका छन् ।