• २ साउन २०८१, बुधबार

१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी

blog

काठमाडौँ, असार २७ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् । करिब दुुई वर्षको अवधिमा कोषमा योगदान गरेका योगदानकर्ताले त्यो बराबरको रकम कर्जा तथा सापटी योजना अन्तर्गत विभिन्न शीर्षकमा लिएका हुुन् । कोषले २०७९ साल भदौ २ गतेदेखि विभिन्न चार प्रकारको कर्जा तथा सापटी योजना सुुरु गरेको हो । 

कोषका अनुसार जसमा सबैभन्दा धेरै विशेष सापटी योजना अन्तर्गत १८ हजार ८२५ जनाले तीन अर्ब ५० करोड लिएका छन् । यस्तै घरकर्जा तथा सापटी योजना अन्तर्गत २८ जनाले पाँच करोड ३६ लाख रुपियाँ लिएको र शैक्षिक कर्जा तथा सापटी योजना अन्तर्गत तीन जनाले २३ लाख लिएको कोषले जनाएको छ । कोषमा अहिलेसम्म सामाजिक कार्य सापटीमा कोही पनि सहभागी भएका छैनन् । 

कोषका प्रवक्ता विवेक पन्थीले कोषले योगदानकर्ताका लागि सहज गराउन एकै पटक चार प्रकारका कर्जा तथा सापटी योजना सुुरु गरेको भए पनि सबैभन्दा धेरै विशेष सापटी योजना अन्तर्गत कर्जा प्रवाह भएको जानकारी दिनुुभयो । विशेष सापटी अन्य तीन वटा सापटीभन्दा सजिलो र सस्तो ब्याजदर भएकाले योगदानकर्ताले बढी यही योजनालाई मन पराएको हुुन सक्ने उहाँको बुुझाइ रहेको छ । प्रवक्ता पन्थीका अनुसार यस्तै विशेष सापटी अन्तर्गत पैसा जम्मा भएको ८० प्रतिशतसम्म लिन सकिने व्यवस्था र यसका लागि कोषको कार्यालय नआइकन अनलाइनमार्फत आवेदन दिएर लिन सकिने व्यवस्था रहेको छ । 

कोषमा विशेष सापटी लिनका लागि तीन वर्ष वा ३६ महिनासम्म योगदान भएको हुुनुपर्ने र अवकाश योजनामा न्यूनतम ६२ हजार पाँच सय रुपियाँ हुुनुुपर्ने र रोजगारीमा रहेको हुुनुुपर्ने कोषले जनाएको छ । 

यस्तै कोषको घरकर्जा तथा सापटी योजना अन्तर्गत करिब दुुई वर्षको अवधिमा २८ जनाले मात्रै सेवा लिएको कोषले जनाएको छ । कोषका अनुसार योगदानकर्ताले ७५ लाख रुपियाँ वा १५ वर्षको तलब बराबर घरकर्जा सुविधा पाउने छन् । त्यस्तै ३५ लाख रुपियाँसम्मको शैक्षिक कर्जा पाउने व्यवस्था छ । जसमा अहिलेसम्म तीन जनाले २३ लाख रुपियाँ सापटी लिएका छन् । यस्तै पाँच लाखसम्मको सामाजिक कार्य (विवाह, व्रतबन्ध आदि) कर्जा सुविधा पाउने व्यवस्था छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भई लगातार तीन वर्षसम्म रकम जम्मा गर्ने योगदानकर्ताले मात्रै यस्तो कर्जा प्राप्त गर्न सक्ने तर अहिलेसम्म कसैले नलिएको पनि कोषले जनाएको छ । 

कोषले घर सापटीका लागि धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपियाँ योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोही बराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । पति र पत्नी दुवै जना योगदानकर्ता भएमा एउटै धितोबाट दुई जनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवै जनाको तलबमानका आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिने छ । 

शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजकोे पति वा पत्नी, छोरा, छोरीमध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनले खाम्ने यस्तो खालको कर्जा दिइने कोषले जनाएको छ ।  

शैक्षिक सापटी प्रदान गर्न योगदानकर्ताको मागबमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिने छ । योगदानर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिने छ । शैक्षिक सापटीको पहिलो किस्ता लिएको अवधिको बढीमा १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्ने छ । 

कोषमा हालसम्म १४ लाख ७७ हजार ९०१ जना आबद्ध भएका छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने नौ लाख ६६ हजार ५७४ जना आबद्ध भएका छन् भने औपचारिकतर्फ पाँच लाख १० हजार ८९४ जना आबद्ध भएका छन् । यस्तै अनौपचारिकतर्फका २९४ जना र स्वरोजगारतर्फ १३९ जना आबद्ध भएका छन् । जसबाट अहिलेसम्म कोषमा ५७ अर्ब ९६ करोड जम्मा भएको कोषले जनाएको छ ।