• २४ असार २०८१, सोमबार

बोडीले मूल्य नपाउँदा किसान चिन्तित

blog

जनार्जन खत्री
सर्लाही, वैशाख १८ गते ।
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ ।

केही दिनअघिसम्म थोरै मात्र आउने बोडी अहिले बजारमा अत्यधिक भित्रिन थालेपछि बोडीले मूल्य पाउन छाडेको हो । बोडीले उचित मूल्य नपाउँदा किसान निराश भएका छन् ।

कृषि उपज थोक बजार समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले हरेक दिन बिहान बोडी बोकेका साइकल, मोटरसाइकल, इ–रिक्सालगायत सवारी साधनको लर्काे लाग्ने गरेको जानकारी दिनुयभो । उत्पादन बढेसँगै केही दिनयता लालबन्दीमा १०० क्वीन्टल हारहारीमा बोडीको किनबेच हुने गरेको घिमिरेले बताउनुभयो ।

बोडीको उत्पादन बढे पनि मूल्य भने घटेपछि किसान निकै चिन्तित बनेका छन् । चार दिन अघिसम्म प्रतिकिलो ४० रुपियाँ रहेको बोडी अहिले २० हुँदै १५ रुपियाँमा व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् ।

बजारमा बोडी राईछाई भएपछि व्यापारीहरु मिलेर मूल्य घटाएको किसानको गुनासो छ । १०० रुपियाँ प्रतिकिलोसम्म बेचेका किसान अहिले १५ रुपियाँमै बोडी दिनुपर्दा निराश भएका छन् ।

लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राममिलन रायले बोडीको मूल्य निरन्तर घट्दै जाँदा उत्पादन लागत उठाउन पनि मुस्किल पर्ने अवस्था आएको गुनासो गर्नुभयो । लालबन्दीमा उत्पादन भएको बोडी काडमाडौं पोखरासहित देशका प्रमुख शहरमा निर्यात हुने गरेको छ ।