• ९ जेठ २०८१, बुधबार

कवि डा. गिरिको एकल कविता वाचन

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्रा’ को ६७ औँ शृङ्खलामा साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरिका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरुलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शुङ्खला कोभिड—१९ का कारण केही वर्ष भर्चुअल रुपमा सम्पन्न भएका थिए ।

गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा ल्याएको छ । नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । 

वि.सं.२००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरिले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।

डा गिरिले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बाल कविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरिमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनुका साथै रुप र विचारका उहाँका कृतिहरु पठनीय भएको बताउनुभयो । नेता पनतले भन्नुभयो, “कवितामा विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।”

 राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुशी व्यक्त गर्दै डा गिरिको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सात वटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो । समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने बताउनुभयो । 

सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशगत रुपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरिको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो ।