काठमाडौँ, वैशाख ७ गते । प्रतिनिधि सभा अन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूले आज सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा सभामुख अर्यालले 'मिनी संसद्' का रूपमा रहेका संसदीय समितिहरूलाई थप क्रियाशील र प्रभावकारीरूपमा अघि बढाउन सभापतिहरूलाई विशेष निर्देशन दिनुभयो।
सभामुख अर्यालले सभापतिहरू दलीय प्रतिनिधित्वका आधारमा निर्वाचित भए तापनि समितिको कार्यसम्पादनका क्रममा कुनै पनि दलको आस्था वा प्रभाव देखिन नहुनेमा जोड दिनुभयो।
उहाँले समितिका कामकारबाहीलाई निष्पक्ष र जनमुखी बनाउन आग्रह गर्दै संघीय संसद् सचिवालय र आफ्नो तर्फबाट आवश्यक सम्पूर्ण सहयोग सधैँ उपलब्ध रहने विश्वास दिलाउनुभयो।
भेटका अवसरमा नवनिर्वाचित सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्ण कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँहरूले संसद्का पुराना असल अभ्यासहरूलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात् गरेर समितिका गतिविधि अघि बढाउने बताउनुभयो। उक्त भेटघाटमा प्रतिनिधि सभाका १० र संयुक्त दुई गरी कुल १२ वटा समितिका सभापतिहरूको उपस्थिति रहेको थियो।