• ८ मंसिर २०८१, शनिबार

‘म वसन्तको पालुवा’ (बालनिबन्ध)

blog

नरेन्द्रराज पौडेल

‘म वसन्तको पालुवा ।’ नवसिर्जनाको मुना । सुरम्य रचनाको मुस्कान । यत्ति भनेपछि अरू परिभाषा गर्नु पर्दैन मेरो । म वनमा पलाउँछु । पहरामा लहराउँछु । कान्ला, पाखा, भीर, मैदान सबै मेरा आश्रय दिने मावली । समयको कुनै खण्ड प्रहर छैन मेरा लागि । रातमा रमाउँछु दिनमा पनि खेल्छु हावाका ससाना लहरसँग । साउती गर्छन् मन्द समीरका तरङ्गहरू । चिचिलैमा नचपाउनु खसी मामा वन बुट्यान चर्न आउँदा ! मने दाइ तिम्रो उफ्रिँदै हिँड्ने बथान देखेर मैले डराउनु हुन्न । पाखा, पखेरा, कान्ला, चउरको घाँँस चर । हरिया पात खाऊ तर मतिर लोभी आँखा नलगाऊ । कति बेर उफ्रिँदै पात्तिँदै चारैखुट्टा फालेर हिँडेका हुन्छौ, कसैको आज्ञा आदेश गाली सुन्दैनौ ! आफैँ हुत हुत गर्दै छचण्डाएर हिँडेको बेला मने दाइ तिमी हिंस्रक पनि बन्न सक्छौ ! त्यतिबेर तिमी मेरो मुन्टै निमोठेर नचपाऊ है ! तिम्रो पेट भर्ने अरू पनि साधन छन् । मेरो बाँच्ने आधार खै ?

म अनन्त सम्भावना लिएको कलिलो शिशु । मलाई अतीतको असिनापानीले चुटेर कति समय त पलाउनै दिएन । जाडो हिउँको वर्षा, असिना र तुषाराले सलबलाउनै दिएन । टाक्सिएर बसेँ लामो समय । बल्ल बल्ल वसन्त आएर मेरो जीवनज्योति उघ्रिएको छ । उर्वर धर्तीको मिहीन माटोमा मैले प्रथम प्रसवको कष्ट भोगेर संसार देख्न पाएको छु । आस्था र विश्वासको दियो धप्प बलेको छ । तर मलाई हिजोआज मने दाइभन्दा पनि मान्छेको बढी डर लाग्न थालेको । बम, बारुद र मिसाइलसँग खेल्न थालेको देख्दा थरथर काँप छुट्छ । पसिना आउँछ, मन हडबडाउँछ, त्यसैले वसन्त मलाई दह्रोसँग अडिने नबनाई तिमी नेटो काटेर नजाऊ ! केही समय आफैँ थाकेर संहारको विस्तरमाथि आफैँ निदाउँछ मान्छे अनि बल्ल छोडेहुन्छ मलाई । म आफैँ बच्चा जवानबाट बढ्दै ठूलो भएर झुक्नु छ । मधुर बास्ना फिजाउँदै फक्रिनु छ । अनन्त वीजारोपण गरेर सन्तानदर्सन्तानको अविच्छिन्न शृङ्ख्ृखला कायमै राख्नु छ । त्यसैले मलाई बढाऊ, आफँै दह्रा खुट्टा टेकेर आँधीमा अड्ने, लक्ष्यमा अडिग बन्ने पाठ पढाऊ वसन्त ! त्वमेव माता च पिता त्वमेव ! अर्थात् मेरा बाआमा तिमी नै हौ वसन्त । त्यति मात्र होइन, मेरा गुरु पनि तिमी नै हौ । झिनो सिर्सरे हावाले कानमा साउती गरेर नवनिर्माणको दीक्षा दिने गुरु पनि तिमी नै हौ ! अनुहारमा चहक दिने शरीरमा महक दिने सृष्टिको मुहान तिमी नै हौ वसन्त !

बम, बारुद र मिसाइलसँग खेल्न थालेको देख्ता थरथर काँप छुट्छ । पसिना आउँछ, मन हडबडाउँछ, त्यसैले वसन्त मलाई दह्रोसँग अडिने नबनाई तिमी नेटो काटेर नजाऊँ ! केही समय आफँै थाकेर संहारको विस्तारामाथि आफैँ निदाउँछ मान्छे अनि बल्ल छोडे हुन्छ मलाई ।

न जिस्क्याउ मान्छे मलाई अदना सम्झिएर ! ननिमोठ मेरा मुना, नछिनाल मेरो शीर गोठका गाइभैँसी पठाएर, नचपाउ मेरा नवजात कलकलाउँदा मुजुरा खोरका खसीभेडा पठाएर । चराउ चउर बारीको घाँस । नमास मेरो अनन्त सम्भावना बोकेको मुनालाई । कुनाउरो देऊ, नल पराल, ढुटो पीठो खुवाएर पाल तिम्रा बाख्रा भेडाहरूलाई । नचलाउ संहारको आँसी, भर्खर मुना लागेर सलबलाउँदै गरेको मेरो शरीरमाथि । पूmलका मात्र हैन आँप, लिच्ची, स्याउ, सुन्तलाका मादक पुष्परागले पनि मेरो जीवनमाथि पराग थपिएको छ । सुगन्धी परागले रङ्गिएको मेरो नाजुक शरीर बम, बारुदको खारले क्याप्प समाउँछ । कतै सुकिजाला भर्खर वसन्त आएर पलाएको कलिलो आँकुरा, भर्खर रङ चडेको मुलायम पिपिरा ! होस गर मान्छे मेरो ज्यान अकालमा जाला । सानै छु तर लक्ष्य सानो छैन मेरो । पालुवाबाट हुर्किएर हाङ्गाबिङ्गा बढाउँदै फैलाउँदै संसारलाई नै छहारी दिने विशाल वरको वृक्ष बनेर उभिने सुर छ । आजका पालुवा भोलिका वटवृक्ष बन्ने सम्भावाना उधिनेर बालुवामा पानी निकाल्ने समाथ्र्य राख्नेछु । 

सुगन्धी परागले रङ्गिएको मेरो नाजुक शरीर बम, बारुदको खारले क्याप्प समाउँछ । कतै सुकिजाला भर्खर वसन्त आएर पलाएको कलिलो आँकुरा, भर्खर रङ चडेको मुलायम पिपिरा ! होस गर मान्छे मेरो ज्यान अकालमा जाला ।

म वसन्तको पालुवा, कोमल कञ्चन मेरो काया । तिम्रा खस्रा फुस्रा बम, बारुदले फुटेका हातले नसमात मेरो नाजुक शरीर ! नपड्काउ, नसुनाउ आतलाई प्रक्षेपास्त्रका गगनभेदी आवाजहरू । नथर्काउ शक्तिशाली विस्फोटक बम पड्काएर । नजलाउ मेरो आश्रय स्थलमा सम्हारको ताण्डव नाच देखाएर ।

म वटवृक्ष बनेर उचाइमा पुग्नेछु, । विशाल छहारी दिउँला मुनितिर चौतारी चिनेर तिमी बस । गाउँले जम्मा गरेर विकासका योजना बनाऊ । भक्तहरू भक्तिभाव फैलाएर भजन गर ! ढाकर बोकेका बटुवा दाइभाइले तोक्मा अड्याउ, लामो खुइँ काडेर विश्राम गर । भारो पर्न गर्ने गाउँले दाजुभाइ दिदीबहिनी त्यहीँ बसेर सल्लाहसलमत गर !

म चढ्दो पालुवा ! तिमीहरूले निराशाको भारी बोकाउनु हुन्न । विशाल मैदान बन्नुपर्छ मेरो आस्था । सधैँ माथि माथि चड्नुपर्छ र चुचुरो छुनुपर्छ मेरो विश्वासले । बीचमा छलिनु, हराउनु हुन्न मेरा पदचाप ! आफैँ बढ्ने, आफैँ अड्ने,आफैँ फुल्ने, फक्रिने, विशाल वटवृक्ष बन्नैपर्छ मैले । प्रकृतिको अद्भूत निर्माण हो यो सुन्दर धर्ती । यसलाई बम, बारुदको गन्धले प्रदूषित नपार ! ननिमोठ वनस्पतिको अस्तित्वलाई । विषाक्त नबनाउ धर्तीको अमृत घडालाई !