• १९ असोज २०८१, शनिबार

राजमार्गको दुर्दशा

blog

विसं २०१८ मा निर्माण प्रारम्भ दुई लेनको पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) निर्माण सम्पन्न भएपछि मुलुकको सडक यातायातमा ठुलो कायापलट भयो । एक हजार किलोमिटरभन्दा लामो राजमार्गसम्मका छोटा पहुँचमार्ग यसपछि थुप्रै निर्माण भए तर अर्को पूर्वपश्चिम मार्ग निर्माण हुन बसौँ कुर्नु परेको छ । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै सुरु गरिएका पहाडी क्षेत्र भएर लोकमार्ग र तराई÷मधेश भएर हुलाकी राजमार्ग निर्माणका व्रmममै छन् । सवारी चाप बढ्दै गएर दुई लेनको पूर्वपश्चिम राजमार्गले धान्न नसक्ने भएपछि चार लेनमा विस्तार गर्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना भनेर थालिएको विस्तार अन्तर्गत राजमार्गलाई आठ खण्डमा विभाजन गरिएको छ । विस्तार कार्य कछुवा गतिमा सीमित हुँदा यात्रुले मात्र नभई स्थानीयले समेत ठुलै सास्ती बेहोर्नु परिरहेको प्रति आव्रmोश व्यक्त हुँदै आएको छ । विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा थालिएको विस्तार कार्यको प्रारम्भ विसं २०७३ देखि नै भए पनि सुस्त गतिका कारण सम्पन्न हुन अझै कति वर्ष लाग्ने हो भन्ने यकिन छैन । 

दुई खर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको राजमार्ग विस्तार अभियानमा सबैभन्दा धेरै सास्ती नारायणगढ–बुटवल खण्डमा बेहोर्नु परेको सञ्चार माध्यममा पटक पटक प्रकाशित हुँदै आएको छ । हिउँदमा धुलो र वर्षामा हिलोले सो खण्डको दुर्दशा बर्सौँंैदेखि कायम छ । अवरुद्ध भएर घण्टौँसम्म यात्रुको सकडमै बास हुँदा पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार सडक खुलाउने कार्य नगरेको पाइएको हो । विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने गरेको छ । यद्यपि ठेकेदार कम्पनी ‘चाइना स्टेट कर्पोरेसन’ ले भने वर्षा सुरु हुनुपूर्व धेरै डाइभर्सनबाट यात्रा गर्नुपर्ने अवस्था अन्त्य गरिसक्ने जनाएको थियो । यो खण्डको विस्तार विसं २०७५ देखि अगाडि बढेको हो । जम्मा ११४ किलोमिटर लम्बाइ खण्डलाई पूर्वी र पश्चिम खण्ड गरी दुई योजना अन्तर्गत काम अगाडि बढाइएको छ । 

दुवै खण्डको निर्माण कार्य साढे तीन वर्षमा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीले पटक पटक म्याद थपाउँदै आएर पनि कामको भौतिक प्रगति आधा मात्र हुनुले ठेकेदार कम्पनीको असक्षमता पुष्टि हुन्छ । दोस्रो पटक थपिएको म्याद पनि साउन ८ गते सकिँदै छ तर कामको प्रगति भने ५२ प्रतिशत मात्र छ । बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र पहाडी जटिलताले दाउन्नेमा तीन लेन मात्र गरी १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न हुने अलपत्रै छ । निर्माण कार्यका कारण आवागमनमा अवरोध हुन नहुने र बाढीपहिरोलगायतका कारण बन्द भएमा ठेकेदार कम्पनीले तुरुन्तै खुलाउनुपर्ने सर्तनामा हुँदाहुँदै पनि दिनभर सडक अवरुद्ध भएर सास्ती बेहोर्नु परेकोमा सरोकारवालाले बल्ल चासो देखाएका छन् । सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई सडक अवरोध भएमा एक घण्टाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । कम्पनीले निर्देशन पालन गर्ने प्रतिबद्धता जनाएर पनि सडक बन्द भएको घण्टौँसम्म खुलाउन पहल हुँदैन । लामो दुरीका सवारीसाधन घण्टौँ रोकिँदा यात्रुले आक्राेश पोख्नु स्वाभाविक हो ।

ठेकेदार कम्पनीको काममा सुस्तता कतिसम्म छ भने अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो । यो एक वर्षमा केवल १० प्रतिशत काम भएको देखिएको छ । जबकि म्याद थप गर्दा कामको गति बढाएर ७५ प्रतिशत पुर्याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गरिसक्ने सर्त राखिएको थियो । त्यसो त, निर्माण कम्पनीको आफ्नै गुनासो छँदै छ । बिजुलीका पोल हटाउने र निकुञ्ज क्षेत्र तथा वन विवाद मिलाउने जस्ता पूर्वतयारीका काम नसकिँदैदेखि ठेक्का अवधि गणना सुरु भएको उसको भनाइ छ । एउटै चिनियाँ कम्पनीलाई दुई खण्डकै कामको जिम्मा दिनुले पनि काममा प्रगति नभएको स्वदेशी निर्माण कम्पनीहरूको भनाइ मननीय छ । विदेशी ठेकेदार कम्पनीले प्रशासनिक झमेला नबुझेका कारण पनि काममा अलमल भएको नेपाली ठेकेदारको बुझाइ छ । राजमार्ग आसपासका स्थानीय भने सरकारी अनुगमनको कमीले पनि ढिलाइ भएको बताउँछन् । स्थानीयले सडकमा रोपाइँ गरेर तथा बाटो बन्द गरेर पटक पटक आक्राेश पोखे पनि अटेरीपन हटेन । तोकिएको समयमा काम पूरा गराउनेतर्फ बेलैमा सरकारी अनुगमन तथा पहल वाञ्छनीय छ ।