• १३ साउन २०८१, आइतबार

पूरा भयो नदेखेको सपना

blog

काठमाडौँ, वैशाख १८ गते । “गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भन्नुभयो । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले भन्नुभयो ।

“अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,” लम्सालले थप्नुभयो, “सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।” 

४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहनुभएका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताउनुभयो । “सुरुवाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,” सापकोटाले थप्नुभयो । 

“औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,” उहाँले भन्नुभयो ।  विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा सुरुवात गर्नुभएको थियो । त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।

“घाउ–खटिराको चिरफार गरिदिने र काटेको ठाउँमा रगत रोकिदिने काम उहाँले धेरै गर्नुभयो,” लम्सालले भन्नुभयो । रगत रोकिदिने उपचारबाट सुरु भएको गाउँमा ५१ वर्षपछि अस्पताल बनेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिका हो– मण्डनदेउपुर । अस्पताल निर्माण गर्ने कार्यमा भने जेठो बनेको छ । सङ्घीयतापछि काभ्रेपलाञ्चोक जिल्लामा अस्पताल बनाएर सेवा प्रारम्भ गर्ने पहिलो स्थानीय तह आफ्नो नगर बनेको नगरप्रमुख टोकबहादुर वाइबाले दाबी गर्नुभयो । 

अस्पताल निर्माणका लागि प्रदेश सरकारको छ करोड ७० लाख रुपियाँ र नगरपालिकाको तीन करोड ८६ लाख गरी १० करोड ५७ लाख रुपियाँको लागतमा वडा नम्बर ७ मा आधारभूत अस्पताल बनेको हो । प्रदेश सांसद लक्ष्मण लम्साल मण्डनदेउपुरवासीको एउटा आधारभूत आवश्यकता पूरा भएको बताउनुभयो ।

“कम्तीमा १५ शøयामा विस्तार गर्ने प्रयास गरिहेका छौँ,” सांसद लम्सालले थप्नुभयो । अस्पताल पाँच शøयाको रहने र अस्पतालबाट प्रयोगशाला, एक्स–रे, बर्थिङ केन्द्र, फार्मेसीलगायतका सुविधा दिइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । अस्पतालमा रहेको जनशक्ति अस्पतालमा ल्याएर सेवा सुचारु गरिने घिमिरेले भन्नुभयो ।


Author

केशवराज पौडेल