• ७ वैशाख २०८३, सोमबार

मन्दीको जोखिममा विश्व अर्थतन्त्र

blog

छिमेकी भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भइसकेको थियो तर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमइएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भारतलाई बेलायतले उछिनेको छ । बेलायत पाँचौँ ठुलो अर्थतन्त्रमा आएको छ । अमेरिका, चीन, जर्मनी र जापान क्रमशः पहिलोदेखि चौथोसम्म ठुला अर्थतन्त्रका रूपमा कायमै छन् । भारत एक स्थान पछि धेकेलिनुमा के कस्ता कारण छन् ? यो अवस्थाका निम्ति भारतीय मुद्राको अवमूल्यन मूल कारण देखिएको छ । केही महिनामै भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा १० प्रतिशतभन्दा बढीले अव मूल्यन भइसकेको छ । यसमा इन्धनको निरन्तर बढ्दो भाउलाई पनि लिइएको छ । भारतले कच्चा तेल आयात गरी प्रशोधन गर्छ । आन्तरिक खपतसँगै नेपाल र भुटानलाई पनि आपूर्ति गर्छ । आवश्यक कच्चा तेलको ८० देखि ९० प्रतिशत आयातमै निर्भर भएका कारण भारतीय तेल प्रशोधन उद्योगले एक/डेढ वर्षयतादेखि ठुलो चुनौती भोग्दै छ । त्यसैको कारण अर्थतन्त्रमा लगानी बढ्न सकेको छैन तर लागत बढेको छ । त्यसले उत्पादनमा परेको प्रतिकूल प्रभावकै कारण भारतीय अर्थतन्त्र पछाडि पर्न थालेको अर्थशास्त्रीको तर्क छ ।

भारतीय अर्थतन्त्र पछाडि फर्किएको दुष्प्रभाव नेपाली अर्थतन्त्रमा पनि प्रतिकूल असर परिरहेको छ । भारतीय मुद्रासँगै स्थायी विनिमय दर भएको नेपालका निम्ति समेत डलर धेरै महँगो भएको छ । यसले बाह्य ऋणको साँवा र ब्याज तिर्न नेपाललाई बढी भार पर्दै छ । सरकारको सार्वजनिक वित्तमा बढी भार पर्न नै थालिसकेको छ साथै बाह्य व्यापारमा ९० प्रतिशत आयातमा निर्भर नेपालका निम्ति विदेशी वस्तु तथा सेवा महँगो हुँदै गएको छ । पश्चिम एसियाको युद्धले इन्धनको भाउ निरन्तर बढ्दो क्रममै छ । इन्धनको भाउ अचाक्ली बढ्दै जाँदा पनि नेपाल आयल निगम घाटामै रहेको छ । आपूर्ति शृङ्खलामा प्रतिकूल असर परेको छ । हरेक मानिसको गोजीमा क्रयशक्तिको असर देखिन थालेको छ । आम्दानी बढेको छैन तर खर्च भने निरन्तर बढेको छ । सवारी भाडा महँगो हुँदै छ । १०/१५ रुपियाँमा पाइने एक कोसा केराको मूल्य झन्डै दोब्बर हुन थालेको छ । महँगी नेपाल र भारतमा मात्र होइन, विश्वमै बढेको छ तर आय बढ्न सकेको छैन । लगानी, आय, उत्पादन र रोजगारीमा विश्वभर प्रतिकूल असर पर्दै छ । यसले विश्व अर्थतन्त्र नै आर्थिक मन्दीको चपेटामा पर्न सक्ने जोखिम बढ्दै छ । आइएमएफले पनि त्यसतर्फ स्पष्ट सङ्केत गरेको छ ।

विश्व बैङ्क तथा आइएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्र सुधार हुने अपेक्षा गरेको थियो । आइएमएफले यो वर्ष अर्थात् सन् २०२६ मा  ३.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । छ महिनाअघि आफैँले गरेको प्रक्षेपणमा आइएमएफ संशोधन गरेको छ । पश्चिम एसियामा भएको युद्ध प्रभावले संसारकै अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै आइएमएफले यो वर्ष विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर दुई प्रतिशतमा खुम्चन सक्ने आकलन गरेको छ । सन् २०२४ मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले बढेको थियो । गएको वर्ष २०२५ मा विश्व अर्थतन्त्र ३.२ मा सीमित भयो । निरन्तर घट्दै गए पनि यो वर्ष ३.१  प्रतिशत त कायम हुन्छ भन्ने आकलनमा ठुलो अन्तर आउने भएको छ । पछिल्लो युद्ध, इन्धनको भाउमा वृद्धि, आपूर्ति शृङ्खलामा आएको अवरोधले विश्व अर्थतन्त्रको वृद्धि यो आर्थिक वर्षमा दुई प्रतिशतमै सीमित रहन सक्ने अवस्थाले विश्व ठुलो आर्थिक मन्दीतिर अग्रसर भइरहेको दिशा निर्देश गर्छ । आर्थिक मन्दीले साना ठुला सबै अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्छ । विप्रेषणमा आधारित नेपाली अर्थतन्त्रमा त झनै यसको ठुलो असर हुन सक्ने देखिएको छ ।

तीन वर्षको मात्र तथ्याङ्क आकलनले विश्व अर्थतन्त्र आर्थिक मन्दीमै पुगेको निष्कर्ष निकाल्न नसकिए पनि अर्थतन्त्र शिथिल हुँदै गएको भने मान्न सकिन्छ । अर्थतन्त्र शिथिल हुँदै जाँदा नै आर्थिक मन्दीको अवस्था आउन सक्ने हो । आइएमएफले विश्व अर्थतन्त्र शिथिलतातिर गइरहेको अवस्थाका निम्ति केही तथ्य र कारण पनि बाहिर ल्याएको छ । अमेरिका र इजरायलले पाँच साताअघि इरानमा आक्रमण गरेपछि युद्ध आरम्भ भयो । विगत तीन/चार दशकमा उच्च आर्थिक वृद्धि भएको खाडी देशहरूमा यसको चरम प्रभाव परेको छ । विश्वमा कच्चा तेल आपूर्तिको झन्डै २५ प्रतिशत हिस्सा ओगट्न खाडी मुलुकमा भइरहेको अशान्ति र युद्धले विश्वकै इन्धन बजारमा तीव्रतर दुष्प्रभाव परेको छ । इरान नियन्त्रित हर्मुज जलमार्गमा आइरहेको अवरोधले समग्र आपूर्ति प्रणालीमै प्रतिकूल असर परिरहेको छ । विश्व अर्थतन्त्रलाई शिथिल बनाउने थप कारण यही नै हुन सक्ने छ । विश्वमा कच्चा तेलको मूल्य केही महिनामा झन्डै २० प्रतिशतले बढेर प्रतिब्यारेल ११० अमेरिकी डलरसम्म पुगेको छ । यो वर्ष युद्धको समाधान भई आपूर्ति शृङ्खलामा सुधार हुन सकेन भने कच्चा तेलको भाउ 

प्रतिब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । इन्धनको वृद्धिले मुद्रास्फीति बढिरहेको छ । विश्व आर्थिक मन्दी आउन सक्ने अर्को कारणमा मुद्रास्फीति पनि हो । एकै वर्षमा विश्व मौद्रिक अवस्थामा छ प्रतिशतसम्मको मुद्रास्फीति हुन सक्ने देखिएको छ । यसले हरेक उपभोक्ताको क्रयशक्तिमा दुष्प्रभाव पर्ने छ । मुद्रास्फीति रोक्न संसारकै केन्द्रीय बैङ्कले ब्याजदर उच्च बनाउनुपर्ने हुन्छ । उच्च ब्याजदर लगानीका निम्ति लागत बढ्ने हुनाले अर्थतन्त्रमा लगानी साँघुरिने जोखिम छ ।

अधिकांश विकासशील मुलुक आयातित जैविक इन्धनमा निर्भर छन् । भारत र चीन जस्ता ठुला अर्थतन्त्र पनि जैविक इन्धनमै बढी निर्भर छन् । हरित ऊर्जातिर अगाडि बढे पनि चीन अझै पनि कुल ऊर्जा खपतको ३४ प्रतिशत जैविक इन्धनमै निर्भर छ । चीन र भारत विश्वमै सबैभन्दा बढी जैविक इन्धन प्रयोग गर्ने ठुला अर्थतन्त्र हुन् । अमेरिकाको ठुलो हिस्सा पनि जैविक इन्धनमा निर्भर छ । अमेरिकी अर्थतन्त्रमा समेत यताका महिनामा इन्धनको भाउ बढेर महँगी बढेको छ । उपभोक्ता ठुलो मारमा छन् । धनीदेखि विपन्न र विकासशील मुलुक अहिले आर्थिक शिथिलताको मारमा परेका छन् । सबैतिर जनजीवन कष्टकर हुँदै छ । सन् २०२६ मा विश्वमै ऊर्जा उत्पादनमा झन्डै चार प्रतिशतले कमी आउने देखिएको छ । यसले इन्धनको भाउ अझ अकासिन सक्ने देखिएको छ । 

आर्थिक मन्दी शब्दले शताब्दीअघिको महामन्दीको इतिहासलाई सम्झाउँछ । विश्वकै महामन्दी सन् १९३० को दशकले संसारलाई प्रभावित तुल्याएको थियो । सन् १९२९ मै आरम्भ भएको महामन्दीमा विश्वको कुल गार्हस्थ उत्पादन १५ प्रतिशतसम्मले घटेको थियो र १० वर्षसम्म कायम रहेको थियो । अन्तर्राष्ट्रिय व्यापारमा ५० प्रतिशतसम्मले कमी आउँदा औद्योगिक उत्पादन व्यापक कटौती भएको थियो । अमेरिकामा सुरु भएको मन्दी विस्तार हुँदै महामन्दीतिर गयो । सबैजसो मुलुक प्रभावित हुन गए । महामन्दीतर्फ विश्व अर्थतन्त्र गएपछि विश्व पुँजी बजार धराशयी नै बनेको थियो । सेयर बजार दिनदिनै तल झरेका थिए । लगानी गर्ने बैङ्क तथा वित्तीय संस्था धरापमा गए । विकसित मुलुकमा बेरोजगारी दर ३० प्रतिशतसम्म पुगेको थियो । आर्थिक मन्दीको असर अर्थतन्त्रमा मात्र सीमित हुँदैन । त्यसको व्यापक असर राजनीतिमा पर्छ । सरकारविरुद्ध जनआक्रोश बढ्न गई राजनीतिक अस्थिरताले आयतन बढाउँदै जान्छ र गएको थियो । विश्व अर्थतन्त्रको गतिलाई स्वाभाविक दिशा र दशामा ल्याउन अहिले जारी युद्धको अन्त्य अपरिहार्य छ । अमेरिका र इजरायलको इरानसँगको दुई साताको युद्ध विराम अब स्थायी शान्तिमा रूपान्तरण हुनु जरुरी छ ।

इतिहासको अध्ययन गर्दा मन्दी बढ्दै गए महामन्दी हुने छ । मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन प्रयास आवश्यक हुन्छ । मन्दीलाई महामन्दीतिर जान दिनु हुँदैन । मन्दी वा महामन्दी दुवै अवस्था आर्थिक जीवनमाअसाध्य प्रतिकूल हुन जान्छन् । अर्थतन्त्र शिथिल हुँदै जाँदा आर्थिक गतिविधिमा अस्वाभाविक कमी आउँछ । यो क्रमशः बढ्दै गई लगानी, आय, उत्पादन र लगानीमा चक्रीय प्रतिकूल प्रभाव पर्न सक्ने छ । अर्थतन्त्रको जीवनमा आउने कतिपय व्यापार चक्र स्वाभाविक हुन्छन् । स्वाभाविक परिवर्तन मात्र अहिलेको आर्थिक शिथिलता तुलनायोग्य छैन । युद्ध र इन्धन मूल्य अनि युद्धको बढ्दो लागतको भरणका निम्ति अवलम्बन गरिने ठुला अर्थतन्त्रको रणनीतिले विश्वलाई पार्ने दुष्प्रभावसमेत मन्दीको अन्तर्यमा प्रतिविम्बित भएको हुने छ । युद्ध निरन्तर अगाडि गयो भने त्यसले सन् २०२७ मा अझ आर्थिक वृद्धि घट्न सक्ने छ । विश्व अर्थतन्त्रलाई थप क्षति गर्ने छ । विश्वभर नै लगानी, आय, उत्पादन र रोजगारीमा असर पर्न सक्ने छ ।

मन्दी वा महामन्दीको अवस्थाबाट जोगिन विश्वले त प्रयास गर्नै पर्छ । देशीय रूपमा पनि हरेक मुलुकले विश्व अन्तरनिर्भरताको अवस्थालाई न्यूनीकरण गर्ने तयारी गर्नु पर्छ । नेपालको सन्दर्भमा आन्तरिक उत्पादनलाई बढोत्तरी दिन सक्दा मन्दीको बाह्य दुष्प्रभावमा कमी ल्याउन सकिन्छ । यसमा सानो उदाहरण लिएर हेर्न सकिन्छ । खाना पकाउने ग्यासको आपूर्तिमा समस्या भएपछि आधा सिलिन्डर ग्यास वितरण गरी व्यवस्थापन गरियो । बुलेटमा ग्यास आयात भइरहे पनि उपभोक्ताले सञ्चय गर्ने प्रवृत्तिले ग्यास अभाव भएको आकलन पनि गरिएको थियो । अहिले सिलिन्डर खाली नभएर बुलेटमा आएका ग्यास बुलेटमै बस्नुपर्ने अवस्था छ । यो बिचमा उपभोक्ता विद्युतीय चुलोतिर आकर्षित भएका कारण पनि ग्यास उपभोगमा कमी आएको देखिँदै छ । विद्युतीय ऊर्जा ग्यासभन्दा सस्तो पनि छ । विद्युत्को ठुलो मात्रा अहिले आन्तरिक उत्पादन नै हो । स्वच्छ ऊर्जासमेत हो । ग्यासलाई विद्युतीय ऊर्जाले विस्थापन गर्न सक्दा स्वनिर्भर अर्थतन्त्रको आधारसमेत बन्न सक्ने छ ।

पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । अब सवारीसाधनलाई पनि विद्युतीय सवारीतिर रूपान्तरण गरिनु पर्छ । यसमा सरकारले पनि योजना ल्याइसकेको छ । आगामी एक वर्षमा थप एक डेढ हजार मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने अवस्था छ । हिउँदमा पनि विद्युत् आयात गर्नु नपर्ने अवस्था आउन सक्छ । ऊर्जामा स्वनिर्भर हुँदा अर्थतन्त्रका बाहिरी अवयवबाट कम प्रभावित हुने छ । स्वनिर्भर अर्थतन्त्रका निम्ति कृषि पहिलो क्षेत्र हो । कृषिलाई बेवास्ता गर्दा नै देश खाद्यान्नमा समेत बाहिरी बजारमा निर्भर हुनु परेको छ । ऊर्जा र कृषिमा स्वनिर्भर हुन सकियो भने विश्व अर्थतन्त्रमा जतिसुकै ठुलो मन्दी वा महामन्दी आए पनि त्यो दुष्प्रभाव कम गर्न सकिन्छ । 

विप्रेषणमा आधारित मुलुक नेपालका निम्ति पश्चिम एसियाको युद्ध महँगो बन्दै गएको छ । खाडीमा १७ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन् । युद्ध प्रभाव अन्यत्र पनि फैलिँदो छ । मन्दी वा महामन्दीबाट सबैभन्दा पहिले वैदेशिक रोजगारीमा रहेका झन्डै ६० लाख नेपालीले भोग्नुपर्ने छ । त्यो पीडा विप्रेषणका रूपमा धेरै नेपालीको घरपरिवारमा पर्न सक्ने छ । कुल गार्हस्थ उत्पादनको एक चौथाइभन्दा बढी हिस्सा विप्रेषणले लिइरहेको हुँदा अर्थतन्त्र नै प्रभावित हुन सक्ने छ । यसरी हेर्दा नेपालले विश्व आर्थिक मन्दी वा महामन्दीबाट दुष्प्रभावबाट अलग रहने नीति र रणनीति यतिबेला उच्च प्राथमिकतामा राख्नु पर्छ । त्यसका निम्ति देशभित्रकै अर्थतन्त्र आयाम फराकिलो बनाउनु आवश्यक छ । न्यून ब्याजदरमा झन्डै १२ खर्ब रुपियाँ नेपाली बैङ्क तथा वित्तीय संस्थासित लगानीयोग्य पुँजी छ । सरकारले लगानीमैत्री वातावरणको प्रयाससमेत गरिरहेका अवस्थामा आन्तरिक लगानीको नवीन आयाम अगाडि बढाउनुपर्ने छ ।